Breaking News
उपत्यकामा छड्के प्रदूषण जाँच, ३६ मध्ये ११ सवारीसाधन मापदण्डविपरीत

काठमाडौँ, मंसिर ८ –
काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि अनुगमन तीव्र पारिएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा गरिएको सवारी प्रदूषण छड्के अनुगमनमा ३६ सवारीसाधनको प्रदूषण परीक्षण गरिएको छ ।
ललितपुरको खुमलटार र सातदोबाटो क्षेत्रमा गरिएको अनुगमनका क्रममा ११ सवारीसाधन प्रदूषण परीक्षणमा असफल भएका छन् भने २५ सवारीसाधन उत्तीर्ण भएका छन् । परीक्षण गरिएका सवारीसाधनमध्ये ३० दशमलव ५६ प्रतिशत प्रदूषण मापदण्ड पूरा गर्न असफल भएका हुन् ।
वातावरण विभागका उपमहानिर्देशक सरोजकुमार चौधरीले वायु प्रदूषण नियन्त्रणको लागि अनुगमनलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदूषण नियन्त्रणका लागि विभागले थप एउटा प्रदूषण मापन गर्ने मेसिन खरिद गर्ने तयारीसमेत गरेको छ । सवारीसाधनबाट निस्कने धुवाँले वायु प्रदूषण बढाउन योगदान गर्ने भएकाले नियमित जाँच र अनुगमनलाई प्रभावकारी बनाउने विभागको तयारी छ ।
























