चितवन विशेष

भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण

Banner

पूजा ढकाल

चितवन, वैशाख १०-

भरतपुर महानगरपालिकाले विपद्को पूर्वतयारी तथा न्यूनीकरणको लागि विभिन्न उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

आज महानगरपालिकाकी मेयर रेनु दाहालले नेपाली सेना, सशस्त्र प्रहरी बल, नवज्योति सामुदायिक वन तथा उपभोक्ता समिति, नारायणी नमुना मावि, गौरीगञ्ज स्कुल लाइन टोल विकास संस्था तथा महानगरका वडा कार्यालयलाई विपद् व्यवस्थापनको सामग्री हस्तान्तरण गरेकी हुन् ।

महानगरभित्र विपद्का घटना घटिरहने भएकोले पूर्वतयारीसँगै यसको न्यूनीकरणको लागि १८ लाख रुपैयाँ बराबरको उद्धार सामग्री हस्तान्तरण गरिएको विपद् व्यवस्थापन महाशाखाका प्रमुख बालकृष्ण थपलियाले बताए । उनको अनुसार महानगरपालिकाले सर्प उद्धार गर्ने सामग्री, रुख काट्ने मेसिन, बाढी पहिरो जाँदा उद्धार गर्ने डोरी, घिर्नी, स्टेचर, लाइफ ज्याकेट, हेल्मेटलगायतका सामग्री हस्तान्तरण गरेको छ । उनले महानगरभित्रको धेरै विद्यार्थी भएको नारायणी नमुना माविको हेल्थ क्लबले स्टेचर माग गरेकोले प्रदान गरिएको जानकारी दिए । यसरी उद्धार सामग्री हस्तान्तरण गर्दा विपद् व्यवस्थापनमा समुदायिकस्तरबाट पनि सहयोग पुग्ने उनको विश्वास छ ।

विपद्को समय जनशक्ति भए पनि उद्धारको सामग्री बिना काम गर्न नसक्ने हुँदा महानगरपलिकाले प्रदान गरेको सामग्रीले उद्धारमा सहयोग पुग्ने सशस्त्र प्रहरी बलका नायब उपरीक्षक विनोद खतिवडाले जानकारी दिए । उनले तीन वर्ष अगाडि भरतपुर–११ मा हावाले रुख ढलेर तीन जनाको मृत्यु हुँदा रुख काट्ने मेसिनको प्रयोग गरेर दुई दिनमा सेना र सशस्त्र प्रहरीले राजमार्ग सञ्चालन गरेको हुँदा महानगरले प्रदान गरेको मेसिनले निकै टेवा पुग्ने बताए । उनको अनुसार रुख ढलेर राष्ट्रिय राजमार्गलगायतका सडक अवरुद्ध हुँदा यस मेसिनको निकै आवश्यकता हुन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>