इच्छकामना

चितवनको मायाटारस्थित बालगौरी पाथीभरा मन्दिरमा आज साँझदेखि मेला लाग्ने

Banner

मुग्लिन, वैैशाख १०-

धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित चितवनको इच्छाकामना–२ मायाटार पन्थचुलीमा अवस्थित बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर परिसरमा आज साँझदेखि मेला लाग्ने भएको छ । हरेक वर्ष चैते दसैँपछिको पूर्णिमामा मेला लाग्दै आएको छ ।

स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिरको प्रचार–प्रसारमा मेला सहयोगी हुनसक्ने विश्वास लिइएको मन्दिर संरक्षण समितिका अध्यक्ष सुरेश गुरुङले बताउनुभयो । मेलामा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार आज साँझबाट सुरु भई मङ्गलबार विहान पञ्चबलिसहितका फूलको डोली भित्र्याएर पूजाआजा गरेपछि प्रसाद ग्रहण गरिन्छ र दिनभर नाचगानसहित मेला लाग्ने छ ।

हरेक वर्ष चैते दसैँपछिको पूर्णिमामा लाग्ने यस मेलामा चितवन, धादिङ, तनहुँ, गोरखालगायत जिल्लाबाट पूजाआजा गर्न र मेला हेर्न आउने गर्छन् । सन्तान नभएकाहरूले सन्तान मागेमा प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

धार्मिक पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गइरहेको यस मन्दिरमा धादिङको मौवाखोला, हुग्दिखोला र चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपर्दाङगढी हुँदै जान सकिन्छ ।

पछिल्लो समय सडक स्तरोन्नतिसँगै मन्दिरसम्म पुग्न सहज बनेको वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताउनुभयो । मन्दिरसम्म पुग्न सिँढी बाटो निर्माण गरिएको उहाँले बताउनुभयो । साथै गाउँपालिका र वाइनटुवाटरको सहकार्यमा मन्दिरमा लिफ्टिङ प्रविधिबाट पानी पुर्याइएको उहाँले बताउनुभयो । मन्दिर परिसरमा विद्युत् जडानसमेत गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>