समाज

मोबाइल चार्ज गर्न खोज्दा १० वर्षीय बालकको करेन्ट लागेर मृत्यु

Banner

काठमाडौ,बैशाख ९-

शनिबारको दिन बिदा, तेह्रथुमको बसन्तपुरस्थित लालीगुराँस नगरपालिकामा एक लिम्बू परिवार सदा झैं विदा मनाउने क्रममा रहेको थियो। तर परिवार पाल्नका लागि लिम्बू परिवारका ५१ वर्षीय अभिभावक कालीबहादुर लिम्बू बिहानैबाट ज्यालामजदुरी गर्न बजार लागेका थिए। लालीगुराँस नगरपालिका–५ डागपास्थित शनिबार घरमा ११ वर्षीया भीमा लिम्बू, १० वर्षीय सुजित लिम्बू र आमा इन्द्र माया लिम्बू बिदामा घरकामकाजमा व्यस्त थिइन्। बिहानैबाट विद्युत समस्याका कारण विजुली अवरुद्ध रहेको थियो। विद्युत प्राधिकरणका कर्मचारी समस्या निदानका लागि घटनास्थलमा खटिएको थिए।

बेलुका करिब साढे ५ बजे बुवा कालीबहादुर मजदुरी गरि घर फर्कने क्रममा थिए। यसक्रममा अवरुद्ध भएको विजुली आउनेजाने क्रम रहेको थियो। बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र यक्तेनका अनुसार बिहानबाट अवरुद्ध भएको विजुली अपरान्हपछि आउनेजाने क्रममा रहेको थियो।

यसै क्रममा लिम्बूको छिमेकी दिदीले विद्युत नभएर मोबाइल अफ भएपछि सुजितलाई चार्ज गर्नका लागि दिएकी थिइन्। घरका सानो मान्छे सबैका प्रिय र सहज १० वर्षका लिम्बूले मोबाइल चार्ज गर्न मोबाइल लिएर घर पसे। मोबाइल लिएर हाँस्दै घर पसेका लिम्बू त्यसपछि हाँस्न नसक्ने गरी बिदा भए।

प्रहरी निरीक्षक यक्तेनले भने, ‘विजुली आउने जाने क्रममा थियो । छिमेकीले दिएको मोबाईल चार्ज गर्न गएका सुजितलाई करेन्ट लाग्न पुगेछ। घटना भएसँगै आमा र छिमेकीले एम्बुलेन्स बोलाएर अस्पताल पनि पुर्‍याए। तर करेन्ट लागेका सुजितलाई जोगाउन सकेनन्।’

मजदुरी गर्न घरबाहिर भएका कालीबहादुर साँझ घटना सुनेर घरमा पुग्दा स्तब्ध भएका थिए। प्रहरी निरीक्षक यक्तेनका अनुसार चार्ज गर्ने क्रममा नाङ्गो तारले सुजितको बाया हातको चोरी र माझी औँलालाई भेटेको थियो। उनले भने, ‘ससाना केटाकेटीलाई विद्युत जस्तो जोखिम पुर्ण सरसमान चलाउन दिदाँ विषेश ध्यान पुराउन आवश्यक हुन्छ । यसक्रममा छिमेकी र घरका सदस्यले सामान्य रुपमा लिए। सुजितको औलामा बिजुलीले जलेको देखिएको छ। मोबाइल चार्ज गर्ने क्रममा उनलाई त्यही औलामा करेन्ट लागेको हो।’

बसन्तपुरका विभिन्न क्षेत्रमा शनिबारका दिन झाडी काट्ने र विद्युतीय मर्मतका लागि १० बजेबाट ५ बजेसम्मका लागि विद्युत अवरुद्ध हुने सूचना जारी गरि काम गरिएको विद्युत प्राधिकरण स्विच शाखाका कर्मचारी राजकुमार पुर्कुटीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>