इच्छकामना
इच्छाकामनाको भाराङमा विद्यालयको पक्की भवन निर्माण सुरु, आवासिय सुविधा दिने योजना
![Banner](https://narayanionline.com/wp-content/uploads/2024/04/IMG_8220-1.jpg)
भरतपुर,बैशाख ८-
चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ स्थित राष्ट्रिय आधारभुत विद्यालय भाराङको पक्की भवन निर्माण सुरु गरिएको छ । अधिकांस चेपाङ बालबालिका अध्ययन गर्ने जिल्लाको बिकट क्षेत्र भाराङमा विद्यालयको २५ बर्ष पुरानो भवन जीर्ण भनेपछि नयाँ भवन निर्माण सुरु गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत र सपना भिलेज सोसल इम्प्याक्टको ५० प्रतिशत लगानीमा नौं कोठे विद्यालय भवन निर्माण सुरु गरिएको छ । भवनको शुक्रबार शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले चेपाङ बाहुल्य विकट बस्तीमा विद्यालयको पहिलो पक्की भवन निर्माण सुरु गरिएको भन्दै जीर्ण भवनका कारण विद्यार्थीहरु त्रासमा पढ्नुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो ।
उहाँले विद्यालयमा पूर्वाधार निर्माण, शिक्षक दरबन्दी र कक्षा १० सम्मको स्विकृति प्रदानको लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । ‘कक्षा कोठा राम्रो नभएसम्म सिकाइका क्रियाकलापहरु राम्रा हुँदैनन, उहाँले भन्नुभयो, बहुबर्षिय योजनामा राखेर विद्यालय निर्माणको काम सुरु गरेका छौं ।’ उहाँले भवन निर्माणको काम समयमै सम्पन्न गरिने भन्दै अन्य जीर्ण भवनको पनि मर्मतको काम गरिने जानकारी दिनुभयो । यो विद्यालयलाई भबिष्यमा आवासिय सुविधा सहित विद्यालय बनाउने योजनाका साथ सपना भिलेजसंगको सहकार्यमा भवन निर्माणको काम अघि बढाइएको बताउनुभयो ।
अध्यक्ष गुरुङले पहिलो तलाको चार कोठा आर्थिक बर्ष २०८१/८२ भित्र निर्माण सम्पन्न गरिने बताउनुभयो । भवनको दास्रो तलामा चार र तेस्रो तलमा ट्रष्ट हालेर थप एउटा कोठा बनाउने बहुबर्षीय योजना सहित काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले यो विद्यालयमा शिक्षक दरबन्दी र अन्य सेवा सुविधालाई समेत गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो ।
कक्षा १ देखि ८ सम्म पढाइ हुने विद्यालयमा ३०१ विद्यार्थी अध्यानरत छन् । विद्यालयका प्रधानाध्यापक दिप बहादुर गुरुङले विद्यालयको मुख्य भवन भत्काएपछि एउटा कक्षा कोठामा दुई वटा कक्षा सञ्चालन गरिरहेको बताउनुभयो । ‘असहज हुँदा विद्यार्थीलाई बाहिर राखेर पढाउने गरेका छौं,उहाँले भन्नुभयो,भवन भत्काएपछि समस्या भएको छ ।’ उहाँले कालिका नगरपालिका वडा नम्वर १० बाट समेत यहाँ चेपाङ बालबालिका अध्ययनका लागि आउने गरेको बताउनुभयो । ‘बालबालिकालाई डेढ÷दुई घण्टा हिडेर विद्यालय आउनुपर्ने बाध्यता छ,उहाँले भन्नुभयो, यहाँ आवासिय विद्यालय बनाउन आवश्यक छ ।’ यहाँ विद्यालय टाढा भएकै कारण कतिपय बालबालिकाले पाँच कक्षा पढेर पढाई छाड्ने गरेको उहाँले बताउनुभयो । कक्षा ८ उर्तीर्ण भएपछि यहाँका ७५ प्रतिशत विद्यार्थीले पढाइ छाड्छन । ‘चेपाङ बस्तीमा यो समस्या विकराल छ,प्रअ गुरुङले भन्नुभयो, कक्षा आठ उत्तीर्ण गरेपछि यहाँका विद्यार्थी नौं कक्षा पढ्न शक्तिखोर र हात्तीवाङ जानूपर्ने बाध्यता छ ।’ यहाँका विद्यार्थीलाई शक्तिखोर जान पाँच घण्टा र हात्तीवाङ तीन घण्टा लाग्छ ।
पालिकाको ४० लाख र सपना भिलेजको ४० लाख गरि ८० लाखको लगानीमा भवन निर्माणको काम सम्पन्न गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँले चेपाङ बस्तीमा नमुना स्कुल बनाउने योजना रहेको घरदेखि विद्यालयको दुरी निकै टाडा रहेका कारण पढाइ छोड्नु पर्ने अबस्था अन्त्य गरिने बताउनुभयो ।
सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले विद्यायलमा छ कक्षा माथिका बालबालिकालाई आवासिय सुविधा दिने योजनाका साथ भवन निर्माणको काम सुरु गरिएको बताउनुभयो । उहाँले विकटकै बस्तीमा कक्षा १० सम्मको स्विकृतिका लागि सरकारले सोच्नु पर्ने अबस्था रहेको बताउनुभयो । घरमा पेटभरी खान नपाएका कारण चेपाङ बालबालिकाहरु नियमित विद्यालय जादैनन् । सरकारले दिवा खाजाका लागि प्रति विद्यार्थी १५ रुपैया दिँदै आएको छ । गिरीले यो वडामा रहेका सबै बालबालिकालाई सरकारले दिएको दिवा खाजाको बजेट थप गरेर पेटभरी दिवा खाजा खुवाउने योजना अघि बढाइएको जानकारी दिनुभयो ।