चितवन विशेष

निकुञ्जभित्र भूमिगत तार मर्मत, माडीमा ४८ घण्टापछि बल्यो विजुली

Banner

चितवन, वैशाख ७-

चितवन राष्ट्रिय निकुञ्ज भित्र भूमिगत गरिएको तार (केबल) पड्किएर अवरुद्ध भएको माडीको विद्युत सेवा सुचारु भएको छ । विद्युत अवरुद्ध भएको करिब ४८ घण्टापछि बिहीवार राति ११ बजे माडीमा पुनः विजुली बलेको हो ।

३३ केभीको सिंगल सर्किट केबल पटक–पटक पड्किँदा माडीमा विद्युत अवरुद्ध हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रको प्राविधिक टिमले भरतपुर विरतण केन्द्रका प्राविधिकसमेतको सहयोगमा बिहीवार राति भूमिगत तार मर्मतको काम सकेका हुन् ।

माडीमा हाललाई विजुली बलेपनि निकुञ्ज भित्रको भूमिगत तार पड्किने जोखिम कायमै रहेको छ ।

निकुञ्जको देउराली डाँडादेखि तलाउ क्षेत्रसम्मको एक किलोमिटर केबुलमा ठाउँ–ठाउँमा समस्या देखिएका थियो । माडीमा विद्युत लैजान निकुञ्जभित्र आठ किलोमिटर क्षेत्रमा विद्युत लाइन भूमिगत गरिएको छ ।

निकुञ्ज भित्र वैकल्पिक केबल भूमिगत गर्ने योजना लामो समयदेखि रोकिएको छ । पुरक ईआइएको फाइल वन तथा वातावरण मन्त्रालयमा रोकिएपछि वैकल्पिक केबलको काम अघि बढ्न सकेको छैन ।

माडीमा पटक–पटक विद्युत अवरुद्ध भएपछि निकुञ्जभित्र वैकल्पिक तार भूमिगत गर्ने कार्यलाई सिघ्र अगाडि बढाउनका लागि मन्त्रालयको ध्यानाकर्षण गराउन माडी नगरप्रमुख ताराकाजी महतो र उपप्रमुख खेमप्रसाद महतो सहितको माडीको प्रतिनिधिमण्डल काठमाडौं पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>