खेलकुद
एसीसी प्रिमियर कप : आज नेपाल र साउदी अरब भिड्दै

काठमाडौं, वैशाख ५-
ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दैछ।
ओमानमा जारी प्रदर्शनमा नेपाल अपराजित रहँदै एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो। खेल आज नेपाली समय अनुसार दिउँसो पौने १२ बजे सुरु हुनेछ।
साविक विजेता नेपाललले आसिफ सेखको एक हजार रन र दीपेन्द्रसिंह ऐरीको ६ छक्का तथा टिमको सन्तुलित प्रदर्शनले विपक्षीलाई दबाबमा राख्दै आइरहेको छ। आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ।
एसीसी प्रिमियर कपको समूह ‘बी’मा अप्रत्यासित नतिजा देखिएका छन्। कतारले मलेसियालाई हराएको छ भने साउदी अरेबियाले हङकङविरुद्ध सहज जित हात पारेको छ।
नेपाली क्रिकेट टिमले कतार र मलेसियाविरुद्ध संघर्ष गर्दा जारी प्रिमियर कपमा नेपालको प्रदर्शनमा प्रश्न उठ्न लागेको थियो। तर नेपालले समूहको बलियो विपक्षी हङकङलाई जसरी हराएको छ, नेपालको प्रदर्शन सुधारिएको देखिन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो।
जारी प्रतियोगितामै आसिफ सेखले एक हजार टी–ट्वेन्टी रन पूरा गरे। अहिलेसम्म पाँच अर्धशतक प्रहार गरिसकेका आसिफ एक हजार रन पूरा गर्ने चौथो नेपाली खेलाडी बनेका छन्। दीपेन्द्रसिंह ऐरी टी–ट्वेन्टी आईमा १५ सय रन पूरा गर्ने पहिलो नेपाली बनेका छन्।