चितवन विशेष

माडीको सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइचो, नगरपालिकाले दियो बिदा

Banner

चितवन, वैशाख ४-

आज चैते दशैँ । माडीको पर्यटकिय एवम् धार्मिक स्थल सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइचो लागेको छ । अयोध्याधाम र बैकुण्ठधाममा पनि आज उल्लेख्य संख्यामा भक्तजन पुगेका छन् ।

भारतसँगको सिमा नजिक पर्ने सोमेश्वरगढीमा आज हजारौँ भक्तजन पुगेको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् । नगर प्रमुख महतो आफै सोमेश्वरगढी पुगेर रामनवमी चैतेदशैँ मेलाको अवलोकन गरेकी छन् ।

मेलामा करिब ८० प्रतिशत भक्तजन भारतीय रहेको उनले जानकारी दिइन् । आज चैते दशैँको अवसरमा नगरपालिकाले स्थानीय बिदा समेत दिएको नगरप्रमुख महतोले बताइन् ।

सोमेश्वरगढीमा गत चैत २७ गतेदेखि सुरूभएको मेला आउँदो वैशाख ६ गतेसम्म सञ्चालन हुने छ । मेलामा जानका लागि बसन्तपुर बजारबाट सोमेश्वरगढीसम्म यातायातको व्यवस्था मिलाइएको छ ।

माडी–१, गोद्धकमा पनि भक्तजनको भीड लागेको छ । गोद्धक क्षेत्र पर्यटन विकास समितिको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं १, माडीको सह–आयोजनामा गोद्धकमा अष्टजाम पूजा सहित मेला लागिरहेको छ । चैते दशैँको दिन आज मेलाको औपचारिक रुपमा उद्घाटन गरिँदै छ ।

मेलामा शिवमन्दिर, गोद्धकनाथ, भीम इनार, कुकुरनाथ, विरालोनाथ, झन्डी डाँडा, लिम्बू छाँगाजस्ता धार्मिक सम्पदा अवलोकनका साथै विविध साँस्कृतिक कार्यक्रम, खेलकूद, परशुराम कुण्ड स्नान र भोजनगृह सञ्चालन समेत रहेको छ । विशेषगरी पाँच पाण्डव बसेको स्थान र परशुरामले तपस्या गरेको स्थलको स्मरणमा गोद्धक मेला लाग्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>