चितवन विशेष

भरतपुर-२ का स्थायी बासिन्दाले स्वास्थ्य, शिक्षा र कृषिमा छुट पाउने

Banner

चितवन चैत्र २६-
भरतपुर महानगरपालिका वडा नम्बर २ले स्वास्थ्य, शिक्षा र कृषिमा सहुलियत (छूट) दिने भएको छ । वडा कार्यालयले स्वास्थ्यमा पुरानो मेडिकल कलेज, शिक्षामा वडाका सस्थागत विद्यालय र कृषिमा महानगर फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिसँग छुट दिने सम्झौता गरेको छ ।

वडाध्यक्ष मनोज रानाभाटले स्वास्थ्य उपचारमा सहुलियतका लागि कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)सँग वडा कार्यालयले सम्झौता गरेको बताए । वडाध्यक्ष रानाभाटले भने, ‘वडाका बालबालिकाहरुले सहुलियतमा पढ्ने सुविधाको ग्यारेन्टी गर्नका लागि संस्थागत विद्यालयसँग पनि सम्झौता गरेका छौँ ।’ सम्झौताअनुसार अब भरतपुर महानगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दाहरुले पुरानो मेडिकल कलेजबाट पाउने विभिन्न सेवा – सुविधामा ५० प्रतिशतसम्म सहुलियत पाउने छन् । सहुलियत लिनका लागि वडा कार्यालयको सिफारिस अनिवार्य छ । त्यस्तै, मेडिकल कलेजका अतिरिक्त निर्देशक मनोहर प्रधानले पुरानो मेडिकल कलेजबाट उपलब्ध हुने हरेक सेवामा बढीमा ५० प्रतिशतसम्म सहुलियत दिने गरी दिगो रुपमा सम्झौता भएको बताए ।

रानाभाटका अनुसार फलफूल, तरकारी पनि सहुलियतमा खरिद गर्नका लागि क्षेत्रपुरको महानगर फलफूल तथा तरकारी बजारसँग सम्झौता भएको छ । वडा कार्यालयले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सम्झौता – पत्र आदानप्रदान गरिएको थियो । सहुलियत दिने संस्था र वडा कार्यालयबीच सम्झौता भएपछि वडावासीहरुले ‘ ऐतिहासिक काम ’ भन्दै उच्च प्रशंसा गरेका छन् ।

यस्तै, वडाले संस्थागत विद्यालयसँग २५ प्रतिशतसम्म छात्रवृत्तिका लागि पनि सम्झौता गरेको वडाध्यक्ष रानाभाटले बताए । रानाभाटका अनुसार वडा नम्बर २ भित्र रहेका संस्थागत विद्यालयहरुले भर्ना शुल्कमा २५ प्रतिशत र वार्षिक शुल्कमा १० प्रतिशत छात्रवृत्ति दिने छन् । यो सुविधा भरतपुर महानगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दाहरुले मात्र पाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>