चितवन विशेष
सुनचाँदी महासंघको निर्वाचन : अध्यक्षमा चितवनका दुई उम्मेदवार

चितवन, चैत २२-
२२ हजार भन्दाबढी व्यवसायी आबद्ध रहेको सुनचाँदी व्यवसायीहरूको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघको नवौ, दशौं र एघारौं साधारण सभा तथा चौंथो महाधिवेशन यहि चैत २३ र २४ गते काठमाडौंमा हुँदैछ ।
भावी अध्यक्षको लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली र वर्तमान तृतीय उपाध्यक्ष विपिन रामुदामु व्यवसायी तथा प्रतिनिधिहरु रिझाउन देश दौडाहामा छन् । दुवै प्रत्यासी उम्मेदवार चितवनका सुनचाँदी व्यवसायी हुन्।
महासंघको साधारण सभा र निर्वाचनका लागि पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरेका वरिष्ठ र ठुला उद्योगी, व्यवसायीहरू समेत रसाईली र रामुदामुको समूहबाट यतिबेला भोट माग्दै सातै प्रदेश र ७७ जिल्ला दौडाहामा लागेका छन् ।
प्रदेश, जिल्ला तथा नगर सुनचाँदी व्यवसायी संघ, महासंघमा आवद्ध एशोसिएट व्यवसायीहरूलाई भेटेर आफू र आफ्नो समूहलाई जिताउन आकांक्षीहरुले आग्रह गरिरहेका छन् ।
प्रदेशमा को कति हाबी ?
हालसम्म नेपाल सुनचाँदी व्यवसायी महासंघको सातै वटा प्रदेशको अधिवेशन चैत ३ गते सम्पन्न भएको छ। कोशी प्रदेश सभापतिमा रमेश रसाईली, मधेश प्रदेश सभापतिमा रामजी साह, बागमति प्रदेश सभापतिमा ज्योति रत्न बज्रचार्य, गण्डकी प्रदेश सभापतिमा चन्द्र किशोर गौतम, लुम्बिनी प्रदेश सभापतिमा ध्रुव कुमार गहतराज, कर्णाली प्रदेश सभापतिमा जनक सुनार र सुदुरपश्चिम प्रदेश सभापतिमा सन्तोष लामिछाने निर्वाचित भएका छन्। कोशी प्रदेश र मधेश प्रदेशमा भने निर्वाचन प्रक्रियाबाट सभापति चयन भएको थियो।
महासंघको आसन्न महाधिवेशनले सुनचाँदी वृत्तमा सबैको नजर ध्यान केन्द्रित गरेको छ । रसाईली समूहले सातै प्रदेशमा निर्वाचित सभापति आफ्नो पक्षको रहेको बताउँदै आएतापनि अध्यक्षका प्रत्यासी विपिन रामुदामुले यो केबल भ्रम मात्र रहेको बताएका छन् । अध्यक्ष उम्मेदवार रामुदामुले मधेश प्रदेशमा भएको निर्वाचनमा धाँधली भएको बताएका छन्। त्यस्तै अन्य प्रदेशमा सहमतिका आधारमा सर्वसम्मत चयन भएका सभापति कुनै एकपक्षीय नहुने बताएका छन्।
अर्जुन रसाईलीको चुनावी प्रचार प्रसारमा कोशी प्रदेशका सभापति रमेश रसाईली, मधेश प्रदेशका सभापति रामजी साह, बागमति प्रदेशका सभापति ज्योतिरत्न बज्राचार्य, गण्डकी प्रदेशका सभापति चन्द्र किशोर गौतम र लुम्बिनी प्रदेशका सभापति ध्रुब कुमार गहतराज खुलेर लागेको छन् र वरिष्ठता एवम् मर्यादा क्रममा आधारमा अर्जुन रसाईली नै अध्यक्ष हुनुपर्ने बताएका छन् ।
कर्णाली प्रदेशका सभापति जनक सुनार यतिबेला मौन रहेका छन् उनले दुवै प्रत्यासी उम्मेदवारहरूको प्रतिवद्धता एवम् घोषणा पत्र अध्ययन गरेर मात्र समर्थन गर्ने बताएका छन् भने सुदुरपश्चिम प्रदेशका सभापति सन्तोष लामिछानेले भने विपिन रामुदामुको कार्यक्रममा विशेष सम्बोधन दिँदै आफ्नो साथ विपिनलाई रहने बताएका थिए तर हामी पुनस् प्रतिक्रिया लिदाँ सुदुरपश्चिम सभापति लामिछानेले हाम्रो मत अर्जुन रसाईली नै रहने बताएका छन् ।
व्यवसायीको नजर
प्रदेश र जिल्ला–नगर संघमा आफ्नो प्रभाव विस्तार गर्न आकांक्षी उम्मेदवारहरू भेटघाट, छलफल र दौडधुपमा लागेका छन् ।
अध्यक्षका आकांक्षी अर्जुन रसाईलीले चरणबद्ध रुपमा सातवटै प्रदेशको भ्रमणमा रहेका छन् । परिपक्व, अनुभवी व्यक्तित्वका कारण अन्य उम्मेदवारभन्दा वरिष्ठताको आधारमा व्यवसायी बीचमा अर्जुन रसाईली बढी आकर्षक रहको पाइएको छ । अर्का अध्यक्षका आकांक्षी उम्मेदवार विपिन रामुदामु पनि प्रदेश तथा जिल्ला तहका व्यवसायीहरूको भेटघाट मै व्यस्त रहेको बताइएको छ । महासंघको महाधिवेशन आउन केहि मात्र बाँकी रहँदा नेतृत्वको आकांक्षा गर्ने व्यवसायीहरूबीच भेटघाटको व्यस्तता निकै बढेको पाइएको छ ।
महासंघमा जम्बो कार्यसमिति
महासंघको वर्तमान विधानमा धेरै कुराहरु प्रावधान रहेको, विधान त धेरै कुराहरु पनि बोलेको र खोजेको छ। विद्यमान विधानले ५५ जनाको केन्द्रीय कार्यसमितिको व्यवस्था गरेको छ । उम्मेदवार हुने उम्मेदवारले सम्बन्धित आफ्नो जिल्ला तथा नगर बाट नै प्रतिनिधि र पद तोकिएर सिफारिस भई आउनु पर्ने प्रावधान देखिन्छ । महासघंका वहालवाला पदाधिकारी स्वतः प्रतिनिधि हुने छन्, कुनै पनि पदको चुनावी प्रक्रियामा सहभागी हुनको लागि पुनः प्रतिनिधिमा छनोट भइरहनु पर्ने छैन भन्ने उल्लेख छ।
मौजुदा विधानमा जिल्ला सघंको २५ सदस्य बराबर १ जना प्रतिनिधि र नगर सघंको ४० सदस्य बराबर १ जना प्रतिनिधिको व्यवस्था देखिन्छ। कार्यसमितिको गठन तर्फ हेर्दा साधारण सभामा उपस्थित प्रतिनिधिहरु मध्यबाट निर्वाचित हुने व्यवस्था छ।
महासंघको चैत २३ र २४ गते हुने महाधिवेशनले महासंघमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, चार उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, दुई सचिव, सहकोषाध्यक्ष एक, प्रदेश सभापतिहरू पदेन पदाधिकारी सहित ५५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
महासंघको केन्द्रीय समितिमा निवर्तमान अध्यक्ष र पूर्व अध्यक्षमध्येबाट एक जना विशिष्ट सदस्य केन्द्रीय समितिले चयन गर्ने व्यवस्था रहेको छ।
वरिष्ठ उपाध्यक्षका दुई आकांक्षी
यसपटक महासंघको वरिष्ठ उपाध्यक्षमा रसाईली समूह र रामुदामु समूहबाट एक एक जना वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारहरू रहेका छन्। वर्तमान द्वितीय उपाध्यक्ष दियेश रत्न शाक्य रसाईली समूहबाट वरिष्ठ उपाध्यक्षका प्रत्यासी रहेका छन् भने रामुदामु समूहबाट वर्तमान प्रथम उपाध्यक्ष मोहन काजी शाक्य रहेका छन्। रसाईली समूहका वरिष्ठ उपाध्यक्ष उम्मेदवार शाक्य महासंघ गठन हुँदा विधान मस्यौदा कर्ता मध्यका एक हुन्।
कसको पकड कति ?
महासंघको निर्वाचनमा जिल्ला, नगरको मतभार बढी भएकाले सबै उम्मेदवारीको ध्यान जिल्ला, नगरमा परेको छ । प्रदेश महासंघमा अर्जुन रसाईलीको पकड रहेको छ । मोफसलको नेतृत्व गर्दै दोस्रो महाधिवेशनबाट निर्वाचित मोहन सुनार अर्जुन रसाईलीको समूहको प्रचार प्रसारमा व्यस्त रहेका छन्। मोफसलमा अध्यक्ष पदका उम्मेदवार विपिन रामुदामु भन्दा निर्वतमान अध्यक्ष मोहन सुनार र अध्यक्षका अर्का उम्मेदवार अर्जुन रसाईलीको दरो पकड रहेको बुझिएको छ ।
कसको समूहमा को ?
अर्जुन रसाईलीको समूहबाट वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य, उपाध्यक्षहरूमा धर्म सुन्दर बज्रचार्य, रूपदल विश्वकर्मा (राजु धमला), बुद्धिबहादुर विके दियाली, महासचिवमा किरणभाइ बज्रचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा निर्मल दियाली, सह–कोषाध्यक्षमा पद्म सुन्दर शाक्यले उम्मेदवारी दिने तयारीमा छन्।
विपिन रामुदामुको समूहबाट वरिष्ठ उपाध्यक्षमा मोहन काजी शाक्य, उपाध्यक्षमा केशबहादुर सुनार, मानबहादुर विश्वकर्मा (एमबी विश्वकर्मा), महासचिवमा महेन्द्र रत्न शाक्य, कोषाध्यक्षमा सुविन बज्रचार्य, सचिवमा भीम बहादुर सुनारले उम्मेदवारी दिने तयारी गरेका छन् ।
महासंघमा पूर्व अध्यक्षको प्रभाव
महासंघका पूर्व अध्यक्षहरु मणिरत्न शाक्य, मोहन सुनार वर्तमान अध्यक्ष माणिक रत्न शाक्य मध्ये मोहन सुनार अध्यक्षका उम्मेदवार अर्जुन रसाईलीको प्रचार प्रसारका कमाण्डर हुन् भने मणिरत्न शाक्य र माणिकरत्न शाक्य विपिन रामुदामुको चुनावी प्रचार प्रसारमा रहेका छन्।
महासंघको नेतृत्व चयनमा पूर्व अध्यक्षहरूको हल्का केही प्रभाव पर्ने गरेको छ । अब कत्तिको प्रभाव कुन उम्मेदवारको पक्षमा पर्छ भन्ने कुरा चुनावी नतिजाले नै सार्वजनिक गर्नेछ ।
चितवनका निवर्तमान दुई अध्यक्ष महासंघको अध्यक्ष उम्मेदवार
२०५३ सालदेखी सुनचाँदी पेशामा संलग्नता रहेका अर्जुन रसाईली २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्षमा रहँदा चितवनमा महत्वपूर्ण साङ्गठनिक परिवर्तन भएको थियो । रसाईली अध्यक्ष रहँदा चितवन शाखाले विभिन्न संस्थागत उपलब्धिहरु प्राप्त गरेको थियो । रसाईलीको कार्यकालमा चितवनमा संघको आलिसान भवन निर्माण सम्पन्न भएको थियो। सोहीअनुसार रसाईलीको उक्त कार्यकाल सफल कार्यकालको रूपमा समेत गणना हुने गरेको छ । त्यस्तै चितवनमा विपिन रामुदामुको कार्यकालमा महासंघको साधारण सभा सौराहामा भव्यतापूर्वक सम्पन्न भएको थियो।
यसपटकको महासंघको निर्वाचन निकै पेचिलो हुने संकेत देखिएको छ। दुवै प्रत्यासी उम्मेदवारले आआफ्नो उम्मेदवारी कायमै रहेको बताइरहेका छन् । प्यान नम्बरका आधारमा सुन वितरण गर्ने व्यवस्थाको स्थापना गर्न आफ्नो उम्मेदवारी कायमै रहेको अध्यक्ष उम्मेदवार रसाईलीले बताएका छन्। सुनको कोटा प्रणाली खारेजीको लागी आफ्नो उम्मेदवारी रहेको अर्का अध्यक्ष उम्मेदवार रामुदामुले बताएका छन्।
चितवन संघका प्रतिनिधि दुई कित्तामा विभाजित
महासंघको महाधिवेशन आउन अब केहि दिन वाँकी छ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले महासंघको महाधिवेशनमा २१ जना प्रतिनिधिहरू प्राप्त गरेको छ । चितवनबाट महाधिवेशनका लागि संघका अध्यक्ष डा यमबहादुर विक, संघका सल्लाहकार ज्ञानेन्द्रमान शाक्य, महासंघका केन्द्रीय सदस्यहरू चित्रबहादुर विश्वकर्मा खाती, अधिवक्ता जीवनज्योती विश्वकर्मा, ऋतु सेन्चुरी, टुलकप्रसाद विश्वकर्मा, निवर्तमान अध्यक्ष टेकबहादुर विश्वकर्मा, संघका वरिष्ठ उपाध्यक्ष हेमबहादुर विश्वकर्मा, संघका उपाध्यक्षहरू त्रिलोक रामदाम, चेतबहादुर बराली, ननेन्द्र बराली, मोहन पन्थी, रविन्द्र पन्थी, उत्सव खाती र तारा रसाईली, संघका महासचिव गोपाल बहादुर थापा (गहतराज), संघका प्रवक्ता विकास बर्मा, संघका कोषाध्यक्ष निलेनमान शाक्य, संघका सचिव रूपा बराली, रमेश चन्द्र सदाशंकर र संघका सचिवालय सदस्य रेशम बहादुर लामगादे रहेका छन्। चितवन जिल्लाबाट अध्यक्षका दुई जना प्रत्यासी भएपछि संघको मत दुई कित्तामा बिभाजन हुने भएको छ ।
चितवन जिल्लाबाट महासंघको महाधिवेशनमा प्रतिनिधिहरू छनोट गर्दा परिवारवाद हावी भएको छ भने संघका अध्यक्ष डा।यमबहादुर वि।कले संघ अन्तर्गत रहेको माडी शाखालाई एकजना प्रतिनिधिमा पनि समावेश गरेनन्। माडी शाखाले विगतका महाधिवेशनमा एक जना प्रतिनिधि प्राप्त गर्दै आइरहेको थियो । चितवनबाट अध्यक्षका दुई प्रत्यासी भएपछि नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आधिकारिक अध्यक्षको उम्मेदवारी घोषणा गर्न सकेको छैन्। महासंघको मौजुदा विधानले जिल्ला तथा नगर संघबाट नै आधिकारिक उम्मेदवार घोषणा गरेर पठाउनु पर्ने प्रावधान रहेको छ ।
तर यस विषयमा थप बुझ्न चाहँदा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष डा यमबहादुर विकले अहिले हामी छलफल मै रहेका छौं। संघले प्रत्यासी उम्मेदवारहरूसंग संवाद गरिरहेको बताएका छन् । संघले अध्यक्षका प्रत्यासी अर्जुन रसाईली संग हिजो चैत १९ गते छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो भने विपिन रामुदामु संग आज चैत २० गते छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
निर्वाचन समिति गठन
यस पटकको महासंघको साधारण सभा तथा निर्वाचन कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउने गरी महाधिवेशन मूल समारोह समितिले आफ्ना गतिविधिलाई केन्द्रीत गरिरहेको छ । महासंघले शिव रिजालको संयोजकत्वमा निर्वाचन समिति गठन गरिसकेको छ । निर्वाचन समितिले अब केहि समयमा निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गर्ने जानकारी दिएको छ।


























