चितवन विशेष
विद्यार्थीलाई अनिवार्य भर्ना लिन नारायणी नमुना माविलाई वडा कार्यालयको अनुरोध

चितवन, चैत्र २०-
भरतपुर महानगरपालिका वडा नम्बर १० ले आफ्नो वडामा रहेका विद्यार्थीलाई अनिवार्य भर्ना लिन नारायणी नमुना माध्यमिक विद्यालयलाई अनुरोध गरेको छ । प्रवेश परीक्षा मार्फत विद्यार्थीको भर्ना लिन थालेपछि वडाको शिक्षा समन्वय समितिले नारायणी माविमा पढ्न चाहने वडाका विद्यार्थीलाई अनिवार्य भर्ना लिन अनुरोध गरेको हो । वडा अध्यक्ष परमेश्वर खनालले मंगलबार एक विज्ञप्ती जारी गदै नारायणी नमुना माविमा पढ्न चाहने विद्यार्थीलाई अनिवार्य भर्ना लिन अनुरोध गरेका हुन् ।
‘चितवन माध्यमिक विद्यालय र भरतपुर माध्यमिक विद्यालयबाट छाडेर आउने बाहेक अन्य विद्यालयबाट पढ्न आउने विद्यार्थीलाई अनिवार्य रुपमा निःशुल्क भर्ना लिनु पर्दछ’, अध्यक्ष खनालले भने ‘भर्ना खोलेको सिट संख्याभन्दा वडाका विद्यार्थी बढी भर्ना हुन चाहेमा पनि लिनुपर्दछ ।’
उनले नारायणी माविमा पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा लिन नपाइने बताए । यसका लागि विद्यालयलाई समेत परिपत्र गरिएको छ । नारायणी नमुना मावि सामुदायिक विद्यालयमा चितवनको उत्कृष्ट विद्यालयमा पर्दछ । यहाँ भर्ना हुनका लागि विद्यार्थीको घुँइचो लाग्ने गर्दछ ।


























