देश/प्रदेश

पुनर्जीवित गरिँदै ऐतिहासिक साँघुमुख बजार

Banner

कास्की, चैत १४-
पोखरा–९ महेन्द्रपुलस्थित तीन सय वर्ष पुरानो साँघुमुख बजारलाई व्यवस्थित गरी पुनर्जीवित गर्ने कामको थालनी गरिएको छ । सन्ध्याकालीन बजार व्यवस्थापन समितिको सक्रियतामा पुरानो बजारलाई पुनर्जीवित र सेती नदी किनारमा रहेको दुई रोपनी क्षेत्रफल जमिनलाई पार्कका रुपमा विकास गर्न लागिएको हो ।

उक्त समितिका अध्यक्ष रामहरि पौडेलले साँघुमुखको इतिहास जोगाउन बजारको विकास र व्यवस्थित पार्क निर्माण गर्ने उद्देश्यका साथ काम सुरु गरेको बताउनुभयो । अध्यक्ष पौडेलले साँघुमुखको इतिहास यहाँका पूर्वजसँग जोडिएकाले यसको महत्व धेरै भएको बताउनुभयो । ६० वर्षअघि साँघुमुखको दुई सय मिटर दक्षिणमा पक्की पुल बनेपछि साँघुको मुखमा रहेको बजार ओझेलमा परेको थियो । साँघुमुखको पार्कको जमिन सयौँ वर्षदेखि डम्पिङ साइटमा प्रयोग हुँदै आएको थियो ।

“बजार व्यवस्थापन गर्न सन्ध्याकालीन बजार सञ्चालनमा ल्याइएको छ”, अध्यक्ष पौडेलले भन्नुभयो, “बजार विस्तार गर्न स्थानीयहरुले अग्र्यानिक तरकारी तथा कृषिजन्य वस्तु बिक्रीका लागि घर अगाडि राख्न थालेका छन् ।” उहिलेदेखि पोखरा वारि र पारि भन्ने गरिन्थ्यो । वारितर्फ सेती नदीको पश्चिमी भू–भाग थियो भने पारि सेती नदीको पूर्वी भू–भाग । सेती नदी वारपार गर्न विसं १८२० मा कोठेसाँघु निर्माण गरिएको थियो । त्यही साँघुको मुखमा रहेको बजार पोखरेलीमाझ साँघुमुख बजारका रुपमा प्रख्यात रहेको स्थानीय खुरेन्द्रमान माकाजुले बताउनुभयो ।

कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले राज्य विस्तारका क्रममा पोखराको पूर्वमा रहेको अघौंपौवा आक्रमण गर्न सेती नदीमाथि बाँसको साँघु बनाएको ठाउँलाई अहिले पनि कोेठेसाँघु भनिन्छ । महेन्द्रपुलमा पक्की पुल बनेपछि त्यही साँघुको पश्चिमी डिलमा रहेको साँघुमुख बजार ओझेलमा परेको थियो । कोठेसाँघु बन्नु अघि पनि सेती नदी तर्न साँघु बनाइएको थियो । चौधौँ शताब्दीको सुरुतिर कास्कीमा घले राज्य हुँदा लमजुङ तथा अन्य स्थानबाट कास्कीमा आउन जान सेतीमा ठूला–ठूला मुढा तेर्साएर पुल बनाएको इतिहास छ ।

विसं २०१७ को परिवर्तनपछि पोखरामा अञ्चलाधीशका रूपमा भूदेव राई आएका थिए । राई तिनै व्यक्ति थिए जसलाई राजा महेन्द्रले २०१५ को चुनावमा बिपी कोइरालाविरुद्ध मोरङ दक्षिणमा उठाएका थिए । तिनै भूदेव राई पोखरा आएपछि कोठेसाँघु रहेको ठाउँदेखि केही उचाइमा पक्की पुल बनाइयो जसलाई हाल महेन्द्र पुल भनेर चिनिने स्थानीय चक्रपाणि चालिसे बताउनुहुन्छ ।

राजा महेन्द्रको पालामा बनेकाले सो पुलको नाम महेन्द्रपुल भनी नामकरण गरियो । राईले महेन्द्रपुल निर्माण गर्न त्यतिबेला साँघुमुख, बास्तोलाथर, रानीपौवामा कहलिएका साहु, महाजन तथा सर्वसाधारणलाई समेत कम्तीमा एकदिन ढुङ्गा बालुवा बोक्न लगाएको स्थानीयवासी रामचन्द्र थापाले स्मरण गर्नुभयो । राईकै पालामा बास्तोलाथरदेखि विमानस्थलसम्म जाने बाटो बनेको थियो । सरकारी कार्यालयको व्यवस्थापन एकै ठाउँमा गर्न पार्दीको जग्गा अधिग्रहण गर्ने काम पनि उनै राईको पालामा भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area