चितवन विशेष

चितवनमा कृष्णसार स्थानान्तरणका लागि विद्युतीय तारबार जडान

Banner

भरतपुर, चैत ६-

चितवनमा कृष्णसार स्थानान्तरणका लागि विद्युतीय तारबार जडान गरिएको छ । रत्ननगर नगरपालिकास्थित टिकौली चौरमा रहेको १९ दशमलव ८३ हेक्टर क्षेत्रफलमा कृष्णसार स्थानान्तरणका लागि बासस्थानको सुरक्षार्थ विद्युतीय तारबार (इलेक्ट्रिक फेन्स लाइन)जडान गरिएको हो ।

विद्युतीय तारबार जडानसँगै यहाँ कृष्णसार स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको रत्ननगरका नगर प्रमुख प्रल्हाद सापकोटाले बताउनुभयो । टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिकरूपमा अध्ययनपश्चात् आवश्यक तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

टिकौलीमा कृष्णसार राख्नका लागि तयार पारिएको क्षेत्रमा तारबार, घाँसेमैदान र दुई पोखरी निर्माण गरिएको प्रमुख सापकोटाले जानकारी दिनुभयो । कृष्णसारलाई चितवन ल्याउनका लागि नगरपालिकाले अग्रसरता लिएको हो । नगरपालिकाको प्रमुख संरक्षकत्वमा डिभिजन वन कार्यालय चितवनले यसको व्यवस्थापनको काम गर्नेछ । रत्ननगरको गौरवको योजनाअन्तर्गत छ भाले र १२ पोथी गरी १८ कृष्णसार स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सापकोटाले बताउनुभयो ।

कृष्णसार स्थानान्तरणका लागि नगरपालिकाले रु तीन करोड बढी खर्च गरिसकेको नगर उपप्रमुख यादव पाठकले बताउनुभयो । उहाँले यो महिनाभित्र कृष्णसार ल्याउनेगरी काम भइरहेको जानकारी दिनुभयो । यही चैत ७ गतेदेखि इलेक्ट्रिक फेन्स लाइनमा विद्युत् प्रसारण गरिने भएकाले सो क्षेत्रमा प्रवेश नगर्न नगरवासीलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

कृष्णसारलाई सुरक्षित तरिकाले राख्नका लागि पूर्वाधार निर्माणमा रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटबाट रु एक करोड ५५ लाख पाँच हजार नौ सय १६ लगानी गरिसकेको पूर्वाधार शाखाका इन्जिनियर शङ्करबहादुर कुँवरले जानकारी दिनुभयो । पूर्वप्रमुख संरक्षण अधिकृत वर्णबहादुर थापाले कृष्णसारको संरक्षणका लागि स्थानान्तरणको तयारी गरिएको बताउनुभयो ।

उहाँका अनुसार कुनै प्रजाति एक ठाउँमा मात्र रहँदा रोग तथा बाढी, पहिराका कारण संरक्षणमा चुनौती हुने भएकाले कृष्णसारलाई चितवन ल्याउन लागिएको हो । विसं २०७७ मा अध्ययन सुरु भएर विसं २०७८ देखि कृष्णसार ल्याउनका लागि पूर्वाधार निर्माणको काम सुरु गरिएको थियो ।

कृष्णसारको बासस्थानका लागि खुला घाँसेमैदान भएको ठाउँ उपयुक्त मानिन्छ । यसले काँस, दुबो, सिरु मन पराउँछ । कृष्णसारका लागि बयरको दाना र बुबुल पनि उपयुक्त घाँस हो । टिकौली चौरमा कृष्णसारलाई मन पर्ने बयरलगायत जातका बिरुवासमेत रापिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत नारायण रुपाखेतीले जङ्गल र झाडी भएको ठाउँ कृष्णसारका लागि उपयुक्त नभएको बताउँदै खुला तथा घाँसेमैदान उपयुक्त हुने बताउनुभयो । कृष्णसार ल्याउन लागिएको टिकौली क्षेत्रमा ७० प्रतिशत घाँसेमैदान रहेको उहाँले जानकारी दिनुभयो ।

कृष्णसार नेपालको संरक्षित वन्यजन्तु हो । कुनै समय नेपालको तराई क्षेत्रमा प्रशस्त पाइने कृष्णसार पछिल्लो समय भेटिन छाडेपछि सरकारले संरक्षणको प्रयास थालेको हो । नेपालमा कृष्णसारको सङ्ख्या चार सय ५२ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बर्दियामा एक सय ९६ र कञ्चनपुरको शुक्लाफाँटामा दुई सय ५६ कृष्णसार छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>