Uncategorized

पहिलो न्यायाधीश अनुसन्धानकर्ता हो – महान्यायाधिवक्ता पोखरेल

Banner

चितवन, चैत २-

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले जुनसुकै मुद्दाको पनि पहिलो न्यायाधीश अनुसन्धानकर्ता भएको बताउनुभएको छ । चितवन जिल्ला अदालत बार एसोसिएसनले स्वर्ण महोत्सवका अवसरमा आज आयोजना गरेको ‘न्याय सम्पादन प्रक्रियामा अनुसन्धानकर्ता, अभियोजनकर्ता, प्रतिरक्षा कानुन व्यवसायी र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अनुसन्धानकर्ताबाट त्रुटि भए सबै प्रक्रियामा नै त्रुटि हुने बताउनुभयो ।

महान्यायाधिवक्ता डा पोखरेलले भन्नुभयो, “अनुसन्धानमा त्रुटि भए अभियोजन र निर्णयमा पनि त्रुटि हुन्छ । जसका कारण पहिलो न्यायाधीश भनेको नै अनुसन्धानकर्ता हो । तसर्थ त्रुटिरहित तरिकाले अनुसन्धानलाई अघि बढाउनु अनुसन्धानकर्ताको पहिलो दायित्व हो ।” अनुसन्धानकर्ताले पहिलेदेखि नै सही तवरले अनुसन्धानलाई अघि बढाउन जरुरी रहेको उहाँको भनाइ छ ।

अनुसन्धानका क्रममा देखिने त्रुटि अन्त्य गर्नका लागि समिति बनाएर अध्ययन सुरु गरिएको बताउँदै महान्यायाधिवक्ता डा पोखरेलले सहन्यायाधिवक्ताको नेतृत्वमा अहिले काम भइरहेको जानकारी दिनुभयो । वर्तमान कानुन र सर्वमान्य प्रणालीलाई टेकेर काम गर्न सके न्याय दिन सहज र सरल हुने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “हतार र आवेशमा निर्णय गर्नु हुँदैन ।”

अर्धन्यायिक निकायहरुले समेत न्याय दिने क्रममा घटनाको गाम्भीर्यता र प्रकृति हेरेर काम गर्नुपर्ने पोखरेलले बताउनुभयो । न्याय दिने काम महत्वपूर्ण रहेको भन्दै उहाँले न्याय सरल नभएको बताउनुभयो ।

जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञावलीले पछिल्ला समयमा अभियोजनमा सुधार भएको बताउनुभयो । अझै सुधार गरेर न्याय निरुपणलाई सहज बनाउन सकिने उहाँको भनाइ छ । कार्यविधिमा जटिलता भएको भन्दै उहाँले अनुसन्धानकर्ताले वास्तविकता पहिचान गरेर मात्रै अभियोजन दर्ता गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले देखिएका समस्यालाई समाधान गर्दै न्यायप्रणालीमा सुधार गर्न आवश्यक छ ।”

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले पछिल्लो समयमा देखिएका ‘मिडिया ट्रायल’ले न्यायिक निकायलाई असर गरेको बताउनुभयो । न्यायिक क्षेत्रमा दक्ष जनशक्ति नहुनु र मिडियाका कारण न्याय सम्पादनमा असर परेको उहाँले बताउनुभयो ।

कार्यक्रममा उच्च अदालत सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता ईश्वरी ढकाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमाल, जिल्ला अदालत चितवनका स्रेस्तेदार विष्णु आचार्य, नेपाल पत्रकार महासङ्घ चितवन शाखाका उपाध्यक्ष प्रकाशमणि ज्ञावली, जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल लगायतले न्याय सम्पादन र यसका प्रक्रियामा भएका समस्याका बारेमा आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष खगराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्याय सम्पादन प्रक्रियामा अर्धन्यायिक निकायको भूमिका, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले निकुञ्जमा भएका न्यायिक निरुपण र डिभिजन वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले वन कार्यालयमा भएका न्यायिक निरुपणका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>