चितवन विशेष

चितवनमा ७० वर्षीय महिलाको ब्रतबन्ध

Banner

चितवन, फागुन ३०-

चितवनको भरतपुरमा एउटी महिलाले आफ्नो ब्रतबन्ध गरेकी छन् । भरतपुर महानगरपालिका–५ तोरीखेतकी ७० वर्षीय छलिकुमारी उपाध्यायले मंगलवार सबै धार्मिक विधि पु¥याएर ब्रतबन्ध गरेकी हुन् । ब्रतबन्धका क्रममा उनले पहेँलो बस्त्र लगाएर पुरुषले झैँ भिक्षा माग्दै हिँडेकी थिइन् । ब्रतबन्ध गर्दा आफुलाई गर्व लागेको उनले बताइन् । ब्रतबन्ध पश्चात छोरीले पनि बुबा आमाको काजक्रिया गर्न र कर्मकाण्ड गर्न सक्ने बताउँछिन् ।

‘मेरो बुबा आमा वित्नुभयो । उहाँको श्राद्ध गर्न पिण्ड चलेन । मेरा दाजुभाई नभएको कारण स्वर्गीय बुबा आमालाई पिण्ड दिनका लागि मैले ब्रतबन्ध गर्नुपरेको हो’, उनले भनिन् । वैदिक सनातनको संस्कार अनुसार नै आफुले ब्रतबन्ध गरेको उनले बताइन् । छोरा छोरी दुवै मानव हुन् र दुवैले कर्मकाण्डी चलाउन सक्छन् भन्ने आफ्नो मान्यता रहेको उनी बताउँछिन् । आफन्त, इस्टमित्र, छरछिमेकी र साथीभाई दिदिबहीनीहरुलाई बोलाएर उनले ब्रतबन्ध गरेकी हुन् ।

उनले कुशको जनै र तुलसीको माला लगाएकी थिइन् । उनलाई ९७ वर्षकी बृद्धा बसुन्धरा सिग्देलले मन्त्र सुनाएकी हुन् । ‘छोराछोरी समान हुन् । छोराले मात्रै काजक्रिया गर्ने र आमाबुबाको पालनपोषण गर्ने हो भन्ने जुन धारणा छ, त्यो गलत हो । हरेक छोरीले दाजुभाईले सरह आफ्नो कर्म चलाउनुपर्छ भन्ने मेरो मान्यता हो’, उनले भनिन् ।

कालिका नगरपालिका–२ की भिमा पौडेलले भान्जी दिदिले ब्रतबन्ध गरेपछि ब्रतबन्ध गर्न आफुलाई पनि उत्प्रेरणा मिलेको बताउँछिन् । ‘छोरीले पनि ब्रतबन्ध गरेको देखेपछि मलाई उत्प्रेरणा मिलेको छ । मैले आफुले पनि ब्रतबन्ध गर्ने योजना बनाएकी छु’, उनले भनिन् । ब्रतबन्धलाई जीवनभर गरिने १६ संस्कार मध्येको एक संस्कार मानिन्छ । पण्डित गोविन्द प्रसाद अधिकारीले सबै महिलाले ब्रतबन्ध गर्न सक्ने बताए । ‘बिहे भएर गोत्र परिवर्तन भएपछि यो कर्म गराउन पर्दैन । जुन गोत्रमा जन्म भयो, त्यहि गोत्रमा मात्रै रह्यो भने यो संस्कार गर्न सकिन्छ । विवाह हुने वित्तिकै गोत्र परिवर्तन हुन्छ’, उनले भने ।

काजक्रिया गर्ने खास अधिकार महिलामा भएको र महिलाले पुरुषलाई काजक्रिया गर्न दिएकोले काजक्रिया गर्ने पुरुषलाई पनि किरियापुत्री भन्ने गरिएको उनको तर्क छ । पूर्व महिला तथा बालबालिका मन्त्री उमा रेग्मीले समाजले गर्ने विभेदको अन्त्य गर्नुपर्ने बताइन् । ‘ब्रतबन्ध गर्न छोरीले मिल्दैन भन्ने जुन चलन छ त्यसलाई उहाँले चिर्नुभएको छ’, उनले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>