चितवन विशेष
भ्रमण वर्षको उद्घाटनमा पूर्वप्रधानमन्त्री र रास्वपा सभापतिले १०/१० मिनेट बोल्न पाउने

चितवन, फागुन १८-
भरतपुर महानगरपालिकाको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्वनमा मनाउन लागिएको भरतपुर भ्रमण वर्ष २०२४ को आज उद्घाटन हुँदै छ । भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो साँझ नै चितवन आइसकेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल पनि चितवन आइसकेका छन् । आज सोही पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी आउँदैछन् ।
नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दिउँसो पौने १ बजे हेलिकोप्टरमा चितवन आउने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।
ओली सोही हेलिकोप्टरमा मकवानपुरमा हुने अर्को एक कार्यक्रममा पनि सहभागी भएर काठमाडौं फर्किने कार्यक्रम तय भएको न्यौपानेले जानकारी दिए ।
भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछाने पनि चितवन आउँदैछन् ।
रास्वपाका एक नेता राजेन्द्र अर्यालले दिएको जानकारी अनुसार उनी दिउँसो साढे १२ बजेको उडानबाट भरतपुर आउने कार्यक्रम तय भएको हो ।
कार्यक्रममा अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई निमन्त्रणा गरिएको भए पनि उनी पार्टीको कामको व्यवस्थताले आउन नसकेको महानगरपालिकाले जनाएको छ ।
उद्घाटन समारोहमा ५० हजार सहभागी गराउने महानगरपालिकाको दाबी छ । प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने र सबै पूर्वप्रधानमन्त्रीहरुले वेलुनमा भ्रमण वर्षको लोगो राखेर उडाउने कार्यक्रम तय भएको कार्यक्रम सञ्चालक प्रकाश ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार पूर्वप्रधानमन्त्री, रास्वपाका सभापतिलाई १०/१० मिनेट र प्रधानमन्त्री प्रचण्डलाई १५ मिनेट शुभकामना मन्तव्यका लागि लागि समय छुट्टाइएको छ ।
समारोहमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु सहभागी हुने भए पनि बामगती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मरकट्टेललाई मात्रै शुभकामना दिन लगाइने छ ।
उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले पनि कार्यक्रममा शुभकामना दिनेछन् ।
बिहान ११ बजेदेखि १२ः३० बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन् । दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन समारोह सुरु गरिनेछ ।
उद्घाटन समारोह पछि फेरि सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । गायक बद्री पंगेनी, राजु परियार, विष्णु खत्री, गायिकाहरु समीक्षा अधिकारी, एलिना चौहानलगायतले आफ्नो प्रस्तुति दिनेछन् ।

























