चितवन विशेष
राप्तीमा ताला खोल्ने वातावरण बनाउन नगप्रमुख लामालाई अनुरोध

चितवन, फागुन १७-
चितवनको राप्ती नगरपालिकामा लगाइएको ताला खोल्ने वातावरण बनाउन नगरप्रमुख शमशेर लामालाई अनुरोध गरिएको छ । नगरसभा र कार्यपालिका बैठकको माग गर्दै एक साता अघि नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले लगाएको ताला खोल्ने वातावरण बनाउन नगर उपप्रमुख देवेन्द्र लामाले अनुरोध गरेका हुन् ।
नगर उपप्रमुख लामाले आज(बिहिबार) एक विज्ञप्ती जारी गर्दै नगरप्रमुखले ताला खोल्नका लागि समन्वयकारी प्रयास समेत नभएको आरोप लगाएका छन् । ‘नगरपालिकाको कामकारबाही बारेको समिक्षा, कानून सम्मत कार्यपालिका र नगरसभाको बैठकको आयोजनाका लागि भएको तालाबन्दीलाई सामाधान तर्फ लैजान नगरप्रमुखसंगको प्रत्यक्ष सम्बाद गर्ने पटक पटकको मेरो प्रत्यत्न सफल हुन सकेको छैन । तत्काल उपयुक्त निकास समग्र नगरपालिकालाई लयमा फर्काउनु नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य तथा सम्पूर्ण पक्षको मुख्य ध्येय हुनुपर्नेमा नगरप्रमुखको यस तर्फ कुनैपनि प्रयत्न भएको छैन’, उनले विज्ञप्तीमा लेखेका छन् । उनले कार्यपालिका बैठक तथा नगरसभा अधिवेशनको माग हुनु जायन रहेको समेत दावी गरेका छन् । उनले तालाबन्दी हटाउनका लागि द्धिपक्षिय र बहुउद्देश्यि बैठक बसी समाधान गर्न समेत माग गरेका छन् ।
नगरपालिकाका मेयर शमशेर लामाले एकलौटी ढंगबाट काम कारबाही सञ्चालन गरिरहेको आरोप लगाउँदै उनीहरुले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
राप्तीमा विगत ८ महिनादेखि कार्यपालिका बैठक सञ्चालन हुन सकेको छैन भने नगरपालिकाको हिउँदे अधिवेशन समेत आह्वान गरिएको छैन । राप्तीमा मेयर लामा गठबन्धनको सहयोगमा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् भने र उपप्रमुख नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । राप्तीमा २ जना वडा अध्यक्ष एकीकृत समाजवादीका रहेका छन् भने अन्य सबै कांग्रेस र एमालेका रहेका छन् ।



























