चितवन विशेष

राम जानकी बालिका आश्रममा महायज्ञ हुने

Banner

चितवन, फागुन १८–
पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा श्रीमद्भागवत ज्ञान महायज्ञ (अनुष्ठान) हुने भएको छ । समाजका प्रत्येक बालबालिकाहरुलाई धर्म, संस्कृति र संस्कार सिकाउने उद्देश्यले अनुष्ठान गर्न लागेको आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरी आश्रमले जानकारी दिएको छ ।

अनुष्ठान यही फागुन २० देखि २६ गतेसम्म हुनेछ । राम जानकी बालिका आश्रमले गर्न लागेको यो महायज्ञ ७९ औँ हो । २०६८ सालमा काठमाण्डौँमा महायज्ञ लगाएर शुरु गरिएको महायज्ञ गोरखा, चितवन नवलपरासी जिल्लामा समेत गरिएको छ । यसलाई राष्ट्रव्यापी बनाउने लक्ष्य रहेका आश्रमकी अध्यक्ष सावित्री टण्डनले जानकारी दिइन् ।

वैदिक धर्ममा सबैभन्दा ठूलो मानिने अनुष्ठान श्रीमद्भागवत ज्ञान महायज्ञ हो । यस महायज्ञबाट यहाँका बालिकालाई सु–संस्कार प्रदान गर्दै देशकै योग्य छोरी तयार गर्ने लक्ष्य रहेको उनले बताइन् । अहिले यहाँ ३४ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन् ।

यहाँ रहेका छ जना किशोरीले महायज्ञमा वैदिक पूजापाठदेखि भागवत वाचन गर्ने आश्रमका महासचिव रामेश्वर प्रसाद खनालले जानकारी दिए । प्रमुख वाचिकाको रुपमा उमामहेश्वरी लोककल्याणी रहेकी छिन् । महायज्ञबाट संकलित रकमले बालिका आश्रमको अधुरो निर्माणाधिन भवन सम्पन्न र अक्षयकोष बृद्धि गर्ने लक्ष्य लिइएको छ । महायज्ञ अवधिभर मण्डप पुजा, पाठ पारायण, अखण्ड भजन जागराम लक्ष्यदिप, नृत्य पुजा हुनेछन् । उद्घाटनको दिन देवघाटमा कलश यात्रा समेत निकालिने छ । १३ बर्षअघि स्थापना भएको यस बालिका आश्रममा हालसम्म ८६ जनाले सेवा लिएका छन् । त्यसमध्ये ४७ जनाको पूर्नमिलन गरिएको आश्रमले जानकारी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>