राजनीति

इलाम २ को उपनिर्वाचनमा रास्वपाबाट रमेश प्रसाईंको चर्चा

Banner

विराटनगर,फागुन १६-

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि प्रतिनिधिसभा अन्तर्गत खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको मिति तोकिएको छ । उक्त निर्वाचनमा नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट को उम्मेदवार होला भन्ने चर्चा सुरु भएको छ । रास्वपाका एक नेताले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका रमेश प्रसाईंको चर्चा रहेको बताए । यसअघि रास्वपाले बैंकर अनिल केशरी, पत्रकार मिलन लिम्बू लगायतलाई उठाउने चर्चा हुँदै आएको थियो ।

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रसाईंको नाम चर्चामा रहेको बताए । बुर्लाकोटीलाई रास्वपाले इलाम–२ को उपनिर्वाचनका लागि कमाण्डर तोकेर पठाएको छ । ‘रमेश प्रसाईंलाई उठाउनु पर्छ भन्ने ठुलै जमात छ । उहाँ झापा बस्ने भएको कारण इलामसँगको सम्बन्ध पनि राम्रो छ । पार्टीभित्रका साथीहरुको सुझाव पनि छ । तर, पार्टीले रमेश प्रसाईंलाई उठाउने भन्ने कुनै मनस्थिति बनाएको छैन । सम्भवतः उपनिर्वाचनमा उहाँ उठ्नुहुन्न,’ बुर्लाकोटीले भने, ‘रमेश प्रसाईं हुँदा इलाममा चुनाव जितिन्छ भन्ने इलाममै साथीहरूको पनि कुरा छ ।’

उता, प्रसाईं आफैँ पनि सो क्षेत्रमा जनजाति उम्मेदवार उठाउनु पर्ने आफ्नो धारणा रहेको बताउँछन् । ‘मेरो व्यक्तिगत विचारमा पार्टी शत प्रतिशत समावेशी हुनुपर्छ । इलाम–२ को उम्मेदवार छनौट गर्दा त्यो निर्वाचन क्षेत्रका स्थानीयले अपनत्व ग्रहण गर्ने खालको उम्मेदवार छानिनुपर्छ भन्ने मेरो दृढ दृष्टिकोण हो । अझै स्पष्ट रुपमा भन्दा आदिवासी जनजाति समुदायको उम्मेदवार हुनुपर्छ भन्ने मेरो धारणा हो,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>