राजनीति

परराष्ट्रका १५ विषय सार्वजनिकः अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोगदेखि राहदानी सेवामा सुधारसम्म

०
Banner

काठमाडौं, असोज २३ –

परराष्ट्र मन्त्रालयले जलवायु कूटनीति, अस्ट्रेलियाको थप सहयोग, भोटेकोशी बाढीपछिको पुनःस्थापना, राहदानी सेवा सुधार तथा विभिन्न मुलुकसँगको द्विपक्षीय सम्बन्धलगायत १५ विषय सार्वजनिक गरेको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नियमित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागितादेखि मन्त्रालयले सञ्चालनमा ल्याएका नयाँ सेवासम्मका विषयमा जानकारी दिएका हुन्।

उनका अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियाले थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेको छ।

अस्ट्रेलियाले यसअघि ११ मिलियन अस्ट्रेलियन डलर सहयोग गरिसकेको थियो। परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङबीच अक्टोबर ८ मा मेलबर्नमा भएको भेटवार्तामा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, श्रम आप्रवासन, सिधा हवाई सम्पर्क र जलवायु परिवर्तनका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा उठाउन जलवायु कूटनीति शाखा स्थापना गरेको छ।

संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा नेपालले जलवायु न्याय, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासमा जोड दिएको थियो। आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्तालियामा आयोजना हुने कोप–३१ मा नेपालको उच्चस्तरीय सहभागिताको तयारीसमेत भइरहेको प्रवक्ता क्षेत्रीले बताए। सगरमाथा संवादको दोस्रो संस्करणको तयारी पनि अघि बढाइएको छ।

भोटेकोशी बाढीपछि सरकारले अत्यावश्यक खोज तथा उद्धार गर्नुपर्ने स्थानबाहेक अन्य क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ। असोज १९ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले सम्बन्धित निकायलाई यसअनुसार काम अघि बढाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

नेपाल र रुसबीचको द्विपक्षीय परामर्श बैठकमा रुसी सेनामा भर्ती भएका नेपालीको समस्या समाधानबारे छलफल भएको छ। त्यस्तै, नेपाल र ओमानबीच आर्थिक, श्रम, कन्सुलर, सांस्कृतिक तथा शैक्षिक सम्बन्ध विस्तारबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

नेपाल र चीनबीच तातोपानी–झाङ्मु तथा लिजी–कोरालालगायतका नाका खोल्न आवश्यक समन्वय भइरहेको पनि प्रवक्ता क्षेत्रीले जानकारी दिए।

राहदानी सेवातर्फ अब नेपाली नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था लागू भएको छ।

नयाँ राहदानी प्रणाली सुरु भएयता दुई लाखभन्दा बढी राहदानी जारी भइसकेका छन्। चोरी भएका तथा हराएका राहदानीको विवरण व्यवस्थित गर्न नयाँ कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ।

यसैगरी, नेपाल ई–अटेस्टेसन सिस्टममार्फत हालसम्म १८ हजार ७४९ जनाले सेवा लिएका छन् भने ४५ हजार ९२० वटा कागजात प्रमाणीकरण भएका छन्। विदेशमा अलपत्र परेका, उद्धार आवश्यक भएका तथा बीमा र क्षतिपूर्तिसम्बन्धी गुनासो दर्ता गर्न सञ्चालन गरिएको ‘मोफा मित्र’ एप एक लाखभन्दा बढी प्रयोगकर्ताले प्रयोग गरिरहेको मन्त्रालयले जनाएको छ।

नेपालका ऐतिहासिक सम्पदाको संरक्षणतर्फ जर्मनीमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका ८०० भन्दा बढी लिखित दस्तावेज नेपाललाई हस्तान्तरण गरिएको छ। त्यस्तै, नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले शुभकामना सन्देश आदानप्रदान गरेका छन्।

मन्त्रालयले भारतसँग व्यापार, पारवहन, जलस्रोत तथा हवाई मार्गसम्बन्धी छलफल अघि बढिरहेको, आईपीयूको १५३औँ सभामा नेपालले भोटेकोशी बाढी र जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव पेस गरेको तथा सार्कको १६औँ महासचिवमा भुटानका प्रस्तावित उम्मेदवारलाई सहमति दिएको पनि जनाएको छ। यसबाहेक मन्त्रालयले कूटनीतिक सूचना तथा गतिविधि सार्वजनिक गर्न इन्स्टाग्राम ह्यान्डल सञ्चालनमा ल्याएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>