चितवन विशेष
वित्तिय सुशासन जोखिम मूल्यांकनमा चितवनको खैरहनी देशभरमै उत्कृष्ट

चितवन, फागुन १५-
स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्यांकनमा चितवनकाे खैरहनी नगरपालिलका देशभरमै उत्कृष्ट भएकाे छ । गत आव २०७९/८० मा देशभरका ७५३ पालिकामध्ये ५६२ पालिकाकाे मूल्यांकन भएकामा खैरहनीले सबैभन्दा बढी अंक ल्याएर वित्तिय सुशासनमा उत्कृष्ट बनेकाे हाे ।
संघिय मामिला तथा प्रशासन मन्त्रालयले गरेको वित्तिय सुशासन जोखिम मूल्यांकनमा खैरहनीले ९९ अंक प्राप्त गरेर उच्चतम प्रदर्शन गरेकाे हाे । मूल्यांकनका विभिन्न विषयक्षेत्रका सूचकहरु पुरा गर्दै खैरहनीले उच्चतम अंक प्राप्त गरेको हो ।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मुल्यांकन तथा लेखापरिक्षण, राजश्व व्यवस्थापन जस्ता मूल्यांकनका विषयक्षेत्रमा खैरहनीले उत्कृष्ट अंक ल्याउन सफल भएको हो । १०० पूर्णाङ्कमा खैरहनी नगरपालिकाले ९९ अंक ल्याएको छ ।
चितवनको ईच्छाकामना गाँउपालिकाले ८६.५ अंक, कालिका नगरपालिकाले ८५.५ अंक, रत्ननगरले ८३ अंक, माडीले ७७.५ अंक र भरतपुर महानगरपालिकाले ७६.५ अंक प्राप्त गरेको छ । चितवनको अन्य पालिका मूल्यांकनमा परेपनि राप्ती नगरपालिका भने मूल्यांकनमा पर्न सकेन । अघिल्लो बर्षसमेत खैरहनी नगरपालिका चितवनका अन्य पालिकाभन्दा उत्कृष्ट अंक ल्याउन सफल रहेको थियो ।


























