विचित्र संसार

१६ घण्टासम्म रुखलाई अँगालो हालेर संरक्षणकर्मीले राखिन् कीर्तिमान

Banner

फागुन १३-

युगाण्डाको राजधानी कम्पालाकी एक वातावरण संरक्षण अभियानकर्मीले १६ घण्टासम्म लगातार एउटा रुखलाई अँगालो हालेर गिनिज बुकमा नाम लेखाएकी छन् । २९ वर्षकी फाइथ प्याट्रिसिया आरियोकोटले १६ घण्टा ६ सेकेण्डसम्म रुखको फेदलाई अंकमाल गरेर यस विधामा पहिलो रेकर्ड कायम गरिन् । आम मानिसहरुमा रुखको महत्वका बारेमा जनचेतना जगाउन र अरु मानिसहरुलाई वृक्षारोपणका लागि उत्प्रेरित गर्नका लागि उनले सो विश्व कीर्तिमानी कार्य गरेकी हुन् । फाइथ भन्छिन्, ‘यिनी (रुख)हरु जलवायु परिवर्तन विरुद्धको लडाइँमा सबैभन्दा ठूला सिपाही हुन् ।’

रेकर्ड कायम गर्ने प्रयोजनका लागि अँगालो हाल्ने रुख छान्दा आफूलाई बेहुली पहिरन छानेजस्तै अनुभूति भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘रुखले मलाई छान्यो र त्यो पहिलो दृष्टिमै माया बसेजस्तै थियो । जब मैले रुखलाई देखें तब मैले त्यसैलाई नै अँगालो हाल्नुपर्छ भन्ने लाग्यो ।’

तर १६ घण्टासम्म लगातार उभिएर रुखलाई पाखुराले लपेट्नु सजिलो चाहिं थिएन । लामो समयसम्म उभिंदै खुट्टामा निकै पीडा भएर ज्यानै जालाजस्तो भएको बताउने उनी रुखको खस्रो भागले शरीरको छालामा समेत काटेर घाउ बनाएको र दुखेको बताउँछिन् । फाइथले यो महिनामा नै तेस्रो पटकको प्रयासमा कीर्तिमानी वृक्ष अंकमाल गर्न सफल भएकी हुन् । उनको पहिलो प्रयासमा क्यामराले धोका दिएको थियो भने दोस्रो प्रयासमा वर्षा र मेघ गर्जनका कारण उनले बीचमै छाड्नुपरेको थियो ।

त्यसैले तेस्रो पटक रुखलाई अंकमाल गरिरहँदा पनि सुरुको १ घण्टा उनलाई सो काम छाडौं कि भन्ने लागेको थियो । त्यस्तै ९ घण्टा पुगेको बेला उनी निकै नै थाकिन् र त्यसबेला पनि अंकमाल छाडौं भन्ने सोंच मनमा पलाएको थियो । तर, आफूलाई रुखले सान्त्वना दिएका कारणले अंकमाल जारी राखेको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘मलाई विश्वास छ कि रुखसँग वास्तवमा भावना हुन्छन् र हामीलाई के भैरहेको छ भन्ने कुरा अनुभूत गर्न सक्दछन् । मलाई पनि रुखले आफ्नो कामलाई निरन्तरता दिन ढाडस दियो ।’ एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>