क्रिकेट

पहिलो जितसहित अंकुरमको समुह ‘ए’ दोश्रो स्थानमा उक्लियो, अर्किड समुह ‘बी’ शीर्षस्थानमा

Banner

राकेश तिमल्सिना,
चितवन, फागुन ०७

एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा समुह ‘बी’को अर्किड इंग्लिस स्कुलले लगातार दोश्रो जित समुह ‘ए’ अंकुरमले पहिलो जित निकालेको छ । आजको खेलमा अर्किडले सनराइज इंग्लिस स्कुललाई ६ तथा अंकुरमले लक्ष्मी मावीलाई ८ विकेट हराएको हो ।

भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको सनराइज १७ ओभरमा ६३ रन जोड्दा अलआउट भयो । सनराइजका लागि कप्तान चन्दन महतोले मध्यक्रममा सर्वाधिक २२ रन बनाए । ओपनर सुजल पण्डितले ११ रन जोडे ।

सनराइजको इनिङ्स ध्वस्त बनाउनेक्रममा मन्दिप बरालले ४, सौगात सापकोटाले ३ र अमन भण्डारीले २ विकेट लिए । ६४ रनको झिनो लक्ष्य पछ्याएको अर्किडले १२.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । अर्किडको जितमा सौगात सापकोटाले नटआउट १० रन बनाए । त्यसअघि ओपनर सुगम ढुंगानाले १० रन जोडे ।

बलिङमा अमुल कार्कीले २ तथा सौगात सुवेदी र चन्दन महतोले समान १ विकेट लिए । ४ ओभरमा १ मेडनसहित १० रन खर्चदै महत्वपुर्ण ४ विकेट लिएका अर्किडका मन्दिप बराल खेलको प्लेयर अफ द म्याच भए ।

जारी प्रतियोगितामा ३ खेलबाट १३ विकेट लिएका उनी सर्वाधिक विकेट टेकरको सूचीमा शीर्षस्थानमा छन् । समुह बीमा लगातार दुई खेल जितेको अर्किड ४ अंक जोड्दै तालिकाको शीर्षस्थानमा कायम छ ।

यस्तै अर्को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको लक्ष्मी मावि जगतपुर १३.१ ओभरमा अलआउट हुँदै ४७ रनमा रोकियो । लक्ष्मीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् भने ६ ब्याटरले रनको खाता समेत खोल्न सकेनन् ।

लक्ष्मीलाई सस्तैमा रोक्नेक्रममा सुयोग अधिकारीले ४ तथा इन्सिप पौडेल र मनोज सापकोटाले समान २ विकेट लिए । ४८ रनको झिनो लक्ष्य पछ्याएको अंकुरमले ४.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । अंकुरमको जितमा ओपनर विप्लव पोखरेलले नटआउट २१ रन बनाए ।

४ ओभरमा ८ रन खर्चिएर ४ विकेट लिएका अंकुरमका सुयोग अधिकारी खेलको प्लेयर अफ द म्याच बने । समुह एमा २ खेलबाट पहिलो जित निकालेको अंकुरम २ अंकसहित नेट रनरेटको आधारमा वाल्मिकीलाई पछि पार्दै दोश्रो स्थानमा उक्लिएको छ ।

प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेलमा विश्वप्रकाश मावि र प्रभात मावि तथा अर्को खेलमा वाल्मिकी शिक्षा सदन र मावि गंगानगर प्रतिस्पर्धा गर्नेछन् । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भैरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>