समाचार
एमाले नेताको आत्महत्या प्रकरणः डिएसपीको मापसे चेकको माग गर्दै चरिकोटमा प्रदर्शन

चरिकोट, फागुन ०५-
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी निवासी नेकपा एमाले दोलखाका जिल्ला कमिटी सदस्य कपिलमणि न्यौपानेको आत्महत्या प्रकरणमा जोडिएका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दीपक खड्काको मापसे चेक गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
डिसपी खड्काको टर्चरका कारण न्यौपानेले आत्महत्या गरेको भन्दै आफन्तले शव पोष्टमार्टम गर्न दिएका थिएनन् । शनिवार साँझ वार्ताका लागि बोलाइएकोमा जिल्ला प्रहरी कार्यालयमा वार्ता टोली पुग्दा डिएसपी खड्का मदिराले लठ भएको अवस्थामा थिए ।
अघिल्लो दिन पनि मदिराकै सुरमा उनले मृतक न्यौपानेलाई फोन गरेर धम्क्याएको परिवारको आरोप छ । डिएसपीको धम्कीपछि न्यौपानेले आत्महत्या गरेका थिए । डिएसपीलाई दुई जनाले समातेर क्यान्टिनतर्फ लगी कागती पानी खुवाएर सामान्य बनाउने प्रयास गरेका छन् ।
यता डिएसपीको मापसे चेक गर्न माग गर्दै स्थानीय रुद्रहरी नेपाल,ऋषि बुढाथोकी,शान्ति ओली,शेखर नेपाल र साजन न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । अत्यधिक मापसे गरेर साढे ५ बजे एसपी खड्का कार्यालयमा आएपछि पीडितहरूले मापसे चेकका लागि सिडिओ टुवराज पोखरेललाई निवेदन दिएका हुन् ।

























