पत्रपत्रिका

युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिन रुस तयार

Banner

काठमाडौं, फागुन ३-

रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ । रुसले यसअघि क्षतिपूर्ति दिने तर आफन्त रुस नै जानुपर्ने भनेको थियो । अब भने रुस नेपालतर्फ नरम देखिएको छ ।

नेपालले निरन्तर दबाब दिएपछि रुसले क्षतिपूर्ति रकम नेपालमै पठाउने निर्णय गरेको हो । ‘रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई उपलब्ध गराउनुपर्ने क्षतिपूर्ति रकम नेपालमै पठाउन रुस सहमत भएको छ, रुसले सो रकम नेपाली दूतावासलाई उपलब्ध गराउने छ, त्यसपछि दूतावासले नेपाल पठाउनेछ,’ मस्कोस्थित नेपाली दूतावास स्रोतले जनायो । रुस र युक्रेन युद्धका क्रममा कम्तीमा १४ जना नेपालीको ज्यान गइसकेको छ भने ५० भन्दा बढी घाइते भएका छन् । यद्यपि, रुसले युद्धमा भएको क्षतिको एकिन तथ्यांक दिएको छैन ।

रुसले क्षतिपूर्ति मस्कोस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयमा पठाउनेछ । त्यसपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासनमा पठाउनेछ । जिल्ला प्रशासनले पीडितको एकिन गरेर सो क्षतिपूर्तिबापतको रकम पीडित परिवारलाई उपलब्ध गराउनेछ ।

हालसम्म रुसी सेनामा भर्ती भएका चार जना युक्रेनी सेनाको कब्जामा छन् । परराष्ट्र मन्त्रालयमार्फत १८ मंसिरमा ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको थियो । मन्त्रालयका अनुसार सो कूटनीतिक नोटको हालसम्म कुनै पनि जवाफ आएको छैन ।

नेपालीले सोधेको कुनै पनि प्रश्नको जवाफ रुसले दिएको छैन । परराष्ट्रमन्त्री एनपी साउदले काठमाडौंस्थित नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई मंसिर तेस्रो साता र पुसको पहिलो साता बोलाएर नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>