कृषि

कृषि बीमामा किसानको आकर्षण बढेन

०
Banner

कैलाली, फागुन २-

सुदूरपश्चिममा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न सकेको छैन । कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो ।

कृषि बीमा गर्दा सङ्घीय सरकारले बीमा शुल्कको ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशतसहित सतप्रतिशत शुल्क ९प्रिमियम० सरकारले तिर्ने गरेको भए पनि सुदूरपश्चिममा कृषि बीमा गराउने किसानको सङ्ख्या बढ्न नसकेको बीमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख हृदयराज पण्डितले बताउनुभयो । कृषि बीमा गराउँदा किसानको पैसा नलाग्ने भए पनि बीमा गराउने कम्पनी गाउँमा पुग्न नसक्दा कार्यक्रम प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो ।

पण्डितले चालु आर्थिक वर्षको पुस मसान्तसम्म मुलुकभर कृषि, पशुपन्छी तथा जडीबुटी बीमा गराउनेको सङ्ख्या ७० हजार सात सय ७२ रहेकामा सुदूरपश्चिममा दुई हजार तीन सय १४ बीमालेख मात्रै जारी भएको जानकारी दिनुभयो । कृषि, पशुपन्छी र जडीबुटी बीमा राज्यको प्राथमिकतामा रहेपनि आवश्यक प्रचारप्रसार नहुँदा किसानको आकर्षण बढ्न नसकेको उहाँले बताउनुभयो ।

बीमातर्फ किसानको आकर्षण बढाउन नौ वटै जिल्लामा सञ्चालित एफएम रेडियोमार्फत प्रचारप्रसार गरिनुका साथै पालिकास्तरीय अन्तरक्रिया गरिँदै आइएको पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि बीमा गर्दा किसानले दुर्घटना बीमाबापतको रु पाँच सय मात्रै तिर्नुपर्ने हुन्छ ।

कृषि बीमाका लागि कृषि ज्ञान केन्द्र र पशुपन्छी बीमाका लागि किसानले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट २० प्रतिशत बराबर हुन आउने रकम भुक्तानी पाउने व्यवस्था गरिएको प्रमुख पण्डितले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्म कैलालीमा एक हजार ८४ पशु बीमा, सात माछा बीमा, ९९ कृषि तथा बाली बीमासहित एक हजार एक सय ९० बीमालेख गरिएको छ ।

कञ्चनपुरमा पशु बीमा तीन सय ४०, माछा नौ र कृषि तथा बाली बीमा १६ सहित तीन सय ६५ बीमालेख गरिएको छ । अछाममा दुई सय ९०, डडेल्धुरामा दुई सय ५३, डोटीमा ८२, बझाङमा ८५, बाजुरामा २९ र बैतडीमा २० वटा बीमालेख गरिएको जनाइएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार दार्चुलामा भने अहिलेसम्म एकजना किसानले पनि कृषि बीमा गराएका छैनन् ।

कृषि बीमा गराउने बीमा कम्पनी गाउँसम्म पुग्न नसक्नु, बीमा गराउन किसान स्वयं तत्पर नहुनु, कम्पनीले कृषि बीमा गराउन पहल नलिनु, बीमा कम्पनीलाई प्रिमियम रकम समयमा भुक्तानी नदिनुलगायत कारणले कृषि बीमा गराउनेको सङ्ख्या बढ्न नसकेको पण्डितको भनाइ थियो ।

सुदूरपश्चिममा पशु बीमालेख सबैभन्दा बढी अर्थात् दुई हजार एक सय ६८ वटा गरिएका छन् भने सबैभन्दा कम माछा बीमा १६ वटा गरिएका छन् । प्रदेशभर एक सय ३० मात्रै कृषि तथा बाली बीमालेख गरिएको जनाइएको छ ।

बीमा प्राधिकरणका अनुसार सुदूरपश्चिमका बीमाभन्दा बढी किसानलाई बीमाको पहुँचमा ल्याउन तीन बीमा कम्पनीलाई जिम्मेवारी दिएको छ । कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा नेपाल इन्सोरेन्स कम्पनीले बीमा गराउँदै आएको छ ।

कैलाली, डोटी र बझाङमा राष्ट्रिय बीमा कम्पनी, अछाम, बाजुरामा युनाइटेड अजोक इन्स्योरेन्स कम्पनीले कृषि, पशुपन्छी र जडीबुटी बीमा गराउँदै आएको छ । विसं २०६९ देखि कृषि बीमाको सुरुवात गरिएकामा विसं २०७० देखि सरकारले अनुदान दिन थालेको प्राधिकरणले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>