समाचार
छोराछोरीको हत्या गरी चार तलाबाट हाम्फालेर आमाले आत्महत्या गरेको आशङ्का

काठमाडौँ, माघ २८-
ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनकोसमेत गएराति मृत्यु भयो ।
उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको प्रकृति हेर्दा उनले नै छोराछोरीको हत्या गरी त्यसपछि घरको चार तलाबाट हाम्फालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको जानकारी दिनुभयो । शव परीक्षणको रिपोर्टपछि मृत्युको यकीन कारण भन्न सकिने उहाँको भनाइ छ ।
उहाँले घटनाका कारणबारे सबै कोणबाट अनुसन्धान सुरु भएको जानकारी दिनुभयो । उक्त घटना शनिबार अपराह्न २ बजेतिरको हो । महर्जनले घरको चार तलाबाट हाम्फालेकी थिइन् । छिमेकीहरुले देखेपछि तत्काल प्रहरीलाई खबर गरी उपचारका लागि अस्पताल लगियो । घरभित्र जाँदा दुई बालबालिका अचेत भेटिएपछि उनीहरुलाई पनि अस्पताल लगिएको थियो ।
छ वर्षीय बालक र दुई वर्षीया बालिका ९महर्जनका छोराछोरी० लाई शनिबार साँझ ५ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । राति ९ः३५ बजे उनको पनि मृत्यु भयो । अहिले शव परीक्षणका लागि शिक्षण अस्तपालमा पठाइएको छ । अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतले तकियाले बालबालिकाको मुख थुनेर हत्या गरी उनले आत्महत्या गरेको देखिएको बताउनुभएको छ ।
फरेन्सिक ल्याबका चिकित्सकले पनि बच्चाको सास रोकिएर नै ज्यान गएको बताएका ती अनुसन्धान अधिकृतले बताउनुभयो । उहाँले भन्नुभयो, “तर रिपोर्ट नआई हामीले कारण यो नै हो भन्न सक्दैनौँ ।”

























