Uncategorized
भ्रष्टाचार निवारणका लागि मृत्युदण्डको व्यवस्था गर्नुपर्ने माग

काठमाडौँ, माघ २७-
भ्रष्टाचारविरोधी शास्त्रका संस्थापक, लेखक एवं कानुनविद् भरत जङ्गमले भ्रष्टाचार निवारणका लागि मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लबमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले २०५१ सालदेखि नै भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भनेर लागिरहेको बताएका हुन् ।
अहिले भ्रष्टाचारविरुद्ध कुनै पनि कानुन नबनेको र भएका केही कानुन पनि कमजोर रहेको उनको दाबी छ । साथै, आफूले विगतमा भ्रष्टाचारका विरुद्धमा थुप्रै मुद्दा र आन्दोलन छेडेको दाबी गर्दै उनले अब सडकमा कराउनेभन्दा पनि विश्वविद्यालयमा विद्यार्थीहरूलाई यसविरुद्ध शिक्षा दिन लागिपरेको बताए । आफूले चलाएको अभियानका आधारमा त्रिभुवन विश्वविद्यालयले भ्रष्टाचारविरुद्ध पठनपाठन सुरु गरेको उनको दाबी छ ।
त्यस्तै नागरिक अभियन्ता डा.सुन्दरमणि दीक्षितले पनि कानुनमा मृत्युदण्डको व्यवस्था अनिवार्य हुँदै गएको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्न मृत्युदण्डको व्यवस्था गर्नुपर्ने र त्यसले गर्दा भ्रष्टाचार गर्न व्यक्ति डराउने बताए ।
सरकारले देश र जनताको पक्षमा भन्दा पनि आफ्नो लागि मात्रै काम गरिरहेको उनको दाबी छ । डा.दीक्षितले भुटानी शरणार्थी प्रकरणमा पनि निष्पक्ष छानबिन नभएको भन्दै आक्रोश पोखे । अहिलेको सरकारले एउटा फाइल खोल्ने र त्यसलाई केही समयपछि अर्को फाइल खोलेर ओभरल्यापिङ गरिरहेको बताए । सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी काम अहिलेसम्म कुनै पनि निष्कर्षमा नपुगेको उनको दाबी छ ।

























