पत्रपत्रिका

एक वर्षमा उपभोग्य वस्तुको भाउ २० प्रतिशतले बढ्यो

Banner

काठमाडौं, माघ २७-

पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु नै छैन । एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव घरेलु श्रमिकका रूपमा काम गर्ने सन्जुमाया गुरुङले सुनाइन् ।

उनले भनिन्, “काम गरेको ठाउँमा तलब बढेको छैन, एक वर्षको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।” सबैभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ८० रुपियाँ पुगेको छ, खाने कुरा तरकारी सबै यसै गरी बढेको छ । सन्जुमाया त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । महँगीको मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको एक वर्षको बिचमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशतले महँगिएको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले एक वर्षयता हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशत महँगो भएको पाइएको जानकारी दिए ।

सङ्घका अनुसार गत माघमा प्रतिकेजी ६५ देखि ७० रुपियाँ रहेको गहुँको आँटा बढेर ९५ रुपियाँ हुँदै अहिले ८० रुपियाँमा कारोबार भएको छ । यस्तै मैदा प्रतिकेजी ६५ रुपियाँबाट ११० रुपियाँसम्म पुगेर अहिले घटेर प्रतिकेजी ७५ रुपियाँमा किनबेच भइरहेको छ । सङ्घका अध्यक्ष वज्राचार्यले गहुँको आँटा र मैदाको भाउ केही घटे पनि यसबाट तयार गरिने बिस्कुट र पाउरोटीका परिकार नघटेको बताए । चामल, दाल, गेडागुडी, चिउरालगायतका सामान १० देखि १५ प्रतिशतसम्म महँगिएको उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>