चितवन विशेष
पशुपक्षी ढुवानी व्यवसायीले गरे ‘होल्डिङ सेन्टर’को माग

चितवन, माघ १७-
नेपाल पशुपक्षी जन्य व्यवसायीले पशु ढुवानीका लागि ‘होल्डिङ सेन्टर’को व्यस्थापन गरिदिन सरोकारवालासंग माग गरेका छन् । पुर्व पश्चिम राजमार्गमा आठ/आठ घण्टाको अन्तरमा पायक पर्ने गरी होल्डिङ सेन्टरको व्यवस्थापन गरिदिन माग गरेका हुन् ।
एनिमल नेपालले भरतपुरमा आयोजना गरेको पशु कल्याण सम्बन्धि सरोकारवाला बिचको अन्तरक्रिया कार्यक्रममा उनीहरुले आधुनिक पशु ढुवानी साधनको व्यवस्था मिलाउनको लागि ठाउँ ठाउँमा होल्डिङ सेन्टरको आवश्यक पर्ने बताएका छन् । नेपाल पशुपक्षी जन्य व्यवसायी संघका महासचिव किशोर प्रसाद शर्माले रागाँ, भैसी ढुवानीका लागि होल्डिङ सेन्टर नहुँदा पशु ढुवानी गर्न समस्या भएको बताए । पशु ढुवानी गर्दा आठ घण्टाको अवधिमा पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्ने भएपनि होल्डिङ सेन्टर नहुँदा गन्तव्यमा पुराउन कठिन भएको उनको भनाई छ । नेपालमा पाँच स्थानमा पशुक्वारेन्ट टाइन भएपनि होल्डिङ सेन्टर छैन ।
पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार गाडीमा घाँस, पराल र दाना राखेको हुनुपर्छ । पशु ढुवानी नियमावली लागू गराउन सरोकारवाला पक्षको त्यति चासो देखिँदैन । पशु ढुवानी व्यवसायी बैकुण्ठ बलामिले पशु ढुवानीको मापदण्ड पुरा गर्नका लागि भौतिक संरचनामा सुधार गर्नुपर्ने बताए । उनले बुटवल–नारायणगढ सडक विस्तारका कारण पशु ढुवानी गर्न समस्या भएको समेत बताए । नेपालगञ्ज, बर्दघाट, लुम्बेनी, जितपुर, बारा, धनुषा लगायतका क्षेत्रमा चितवन हुँदै रागाँभैसी राजधानी भित्रने गर्दछन् । व्यवसायीले रामनगर र गैंडाकोट क्षेत्रमा पशुलाई ओरालेर दाना पानी खुवाउनका लागि होल्डिङ सेन्टरको व्यवस्था गर्न माग गरेका छन् ।
चितवनमा होल्डिङ सेन्टर स्थापना गर्न दुई वर्षअघि तीन करोड ८० लाख समेत विनियोज गरिएको थियो । तर जग्गा नहुँदा रकम फ्रिज भएर गएको पशु क्वारेन्टाइन चितवनका प्रमुख शिरिस गौतमले जानकारी दिए । होल्डिङ सेन्टरका लागि जग्गा भाडामा लिन भन्दै सरकारले दुई लाख ४० हजार रुपेयाँ बजेट यस बर्षपनि विनियोजन गरेको उनले बताए । तर, जग्गा उपलब्ध नहुँदा यो रकम फिर्ता हुने डर रहेको उनले बताए ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पुश ढुवानी मापदण्ड अनुसार गर्न व्यवसायीलाई अनुरोध गरेका छन् । अधिकारीले स्थानीय तहबाट पनि केही कमिकमजोरी भएको भन्दै होल्डिङ सेन्टर स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आगामी दिनमा पशु कल्याणको पालना गर्दै ढुवानी गर्न व्यवसायीलाई निर्देशन दिएका छन् । व्यवसायीलाई समस्या भएको ठाउँमा समन्वय गर्न तयार रहेको भन्दै पशु सम्बन्धी मापदण्ड कार्यान्वयन गर्न अनुरोध गरेका छन् । एनिमल नेपाल चितवनकी प्रमुख सुलक्षणा रााणाले रागाँ भैसी ढुवानीमा न्यूनतम मापदण्ड पनि पालना नभएको बताएकी छिन् । उनले ढुवानी गर्दा गाडीमा नाक र पुच्छरमा बाँधेर यातना दिँदै यात्रा गराउने गरेको बताइन् । हरेक गाडीमा प्राथमिक उपचार बाकस हुनुपर्छ । तर भैँसी तथा राँगा रगताम्य बनाउँदै लगेको भेटिन्छ । सरकारको मापदण्ड पुरा पालना नभएपनि न्यूनतम मापदण्ड पालन गर्न उनले माग गरिन् ।


























