चितवन विशेष

भरतपुरको पुङ्गी खोला सौन्दर्यकरणको शिलान्यास

Banner

भरतपुर,माघ १४-

भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्र भएर बग्ने पुङ्गी खोला सौन्दर्यकरणको काम सुरु भएको छ । खोला सौन्दर्यकरण गर्ने आयोजनाको आज (आइतबार) भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले शिलान्यास गर्नुभयो । आयोजनाको शिलान्यास गर्दै दाहालले निर्वाचनमा गरेको बाचा अनुरुप पुङ्गी खोला सौन्दर्यकरणको काम सुरु गरिएको बताउनुभयो । उहाँले खोला सिमाङकन र सौन्दर्यकरणको काम संगसंगै अघि बढाइने जानकारी दिनुभयो । विभिन्न चरणमा गरी पुङ्गी खोला सौन्दर्यकरणको काम सम्पन्न गरिने भन्दै उहाँले सिमाङकन टुंगिएको ठाउँमा काम अघि बढाइएको बताउनुभयो ।

भरतपुरको ११ नम्बर वडाबाट सुरु हुने पुङ्गी खोला २ र ३ नम्बर वडा हुँदै भरतपुर–३ र ४ को सिमानाबाट नारायणी नदीमा मिसिएको छ । यो खोलाको कुल लम्बाई करिब ६ किमी रहेको छ । पाँच किलोमिटर क्षेत्रमा सिमाङकन काम टुंगिएको भन्दै प्रमुख दाहालले गुरुयोजना अनुसार निर्माणको काम अघि बढेको बताउनुभयो । कार्यपालिकाको निर्णय अनुसार सबै जनप्रतिनिधि र स्थानियको साथसहयोगले आजका दिनसम्म सफलतापूर्वक काम भएको र निर्माण सम्पन्न हुने प्रमुख दाहालले विश्वास व्यक्त गर्नुभयो । पहिलो चरणमा ३५५ मिटरमा खोलाको दुवैतर्फ पर्खाल उठाएर विरुवा सहितको फुटपाथ बनाइने दाहालले बताउनुभयो ।

खोला सौन्दर्यकरणको लागि तीन करोड ९७ लाख ७४ हजार रुपैयाँ अनुमान लागतको ठेक्का आह्वान भएको थियो । पहिलो चरणमा दुई करोड ४९ लाख ६९ हजार ५ सय १६ रुपैयाँमा खोला सौन्दर्यकरणको काम गर्न टिएसएन÷गिरवान जेभीले ठेक्का पाएको हो । आगामी २०८१ मंसिर २० गतेसम्ममा यो ठेक्काको काम सम्पन्न गर्नुपर्ने छ ।

महानगरका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र कुमार रानाले संघ र महानगरको बजेटमा खोला सौन्दर्यकरणको काम हुन लागेको बताउनुभयो । उहाँले यो योजना सम्पन्न भएपछि महानगरपालिकाको सौन्दर्यमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष विकाश थापाले खोला सिमाङकनको अभियानमा नागरिकले साथ र सहयोग गरेको भन्दै निर्माणको काममा पनि उत्तिकै सक्रियाता आवश्यक रहेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>