समाज

प्रयोगमा आएन् नमूना बस्ती

०
Banner

कालीकोट, माघ १३-

कालीकोट जिल्लाको रास्कोट नगरपालिका–७ पोखरीकोटमा निर्माण गरिएका नमूना बस्ती सञ्चालनमा आउन सकेका छैनन् । बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमूना बस्ती निर्माण पूरा नहुँदा सञ्चालनमा आउन नसकेका हुन् ।

विसं २०७८ को बाढीपहिराले रास्कोटका जोखिममा परेका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमूना बस्ती निर्माण गरेको थियो ।

नीलो जस्तापाताले सिँगारिएका एकनासका घरहरु आकर्षक देखिने पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमूना बस्ती रहेको स्थानीय नवराज शाहीले बताउनुभयो । “विसं २०७७र७८ मा बाढीपहिराबाट पीडितका लागि प्रदेश सरकारले पहिलोपटक एकीकृत नमूना बस्तीको अवधारणा ल्याएको थियो”, उहाँले भन्नुभयो, “अहिले बाढीपहिरो पीडित पुरानै जोखिमाका घरमा बसिरहेका छन् । एकीकृत बस्तीका अधिकांश घरमा ताला लगाइएको छन् ।”

पहिराले पूर्णरुपमा क्षति पुर्‍याएका ७३ परिवारका लागि आवास बनाइएकामा अहिले उक्त बस्तीमा १६ परिवार मात्र बस्ने गरेको नगरपालिकाले जनाएको छ ।

रास्कोट–१, ३ र ७ का बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि प्रदेश सरकारले रु पाँच करोड बजेट छुटाएर सोही रकमबाट बस्ती निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताउनुभयो । “एकीकृत बस्तीको काम सकिएलगत्तै बस्ती बसाल्ने सोच थियो तर त्यो सफल हुन सकेन”, उहाँले भन्नुभयो, “खानेपानीलगायत केही भौतिक संरचना निर्माण गर्न बाँकी रहेकाले पीडित बस्न मान्नुभएको छैन ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>