चितवन विशेष

हाम्रो सिर्जनाले प्रदान गर्ने दशरथ चन्द स्मृति पुरस्कार मोहन दुवाललाई

Banner

चितवन, माघ ११-
चितवनबाट प्रकाशित हुँदै आएको अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले सहिद दिवसको अवसरमा दिदै आएको ‘दशरथ चन्द स्मृति पुरस्कार’ यो पटक काभ्रे बनेपाका मोहन दुवालले पाउनु हुने भएको छ । दुवाल जनमत मासिक साहित्यिक पत्रिकाका प्रधानसम्पादक र साहित्यकार हुनुहुन्छ । सहिद दिवसका दिन मंगलबार भरतपुरमा हुने कार्यक्रममा उहाँलाई सो पुरस्कार अपर्ण गरिने छ ।

पुरस्कारको राशी नगद १५ हजार रुपैयाँ रहेको छ । ‘हाम्रो सिर्जना’ पत्रिकाका प्रकाशक डिआर पोखरेलका अनुसार यो पुरस्कारका लागि वरिष्ठ साहित्यकार प्रध्यापक आनन्ददेव भट्ट र सुशीला भट्टले अक्षयकोष स्थापना गर्नु भएको हो । सहिदको बलिदानी भावानाहरु प्रति उच्च सम्मान प्रकट गर्नका लागि यो पुरस्कार स्थापना भएको पोखरेलले बताउनु भयो । विस २०७० सालदेखि सहिद दिवसको दिन पारेर पुरस्कार दिइदै आएको उहाँले जनाउनु भयो ।

दुवालले सहिद शुक्रराज शास्त्रीको चिन्तन प्रधान कृति ‘स्वर्गको दरबार’लाई जनमतमा धाराबाहिक रुपमा प्रकाशित गर्नु भएको थियो । विस १९८६ सालमा प्रकाशित भएको शास्त्रीको उक्त कृति चर्चाभन्दा बाहिर रहेर सवैले भुल्दै गएको अवस्थामा दुवालले ‘जनमत’को ११७ देखि १३७ अंकसम्म प्रकाशित गर्नु भएको थियो । त्यसै गरी विस २०६६ सालमा सो कृतिलाई पुनः पुस्तकको रुपमा प्रकाशित गरेको पोखरेलले बताउनु भयो ।

सहिदको महत्वपुर्ण कृतिलाई जोगाउने काममा यो महत्वपुर्ण योगदान भएका कारणले दुवालाई पुरस्कृत गर्ने निर्णय भएको पोखरेलले बताउनु भयो । जिल्ला समन्वय समितिको सभा हलमा हुने कार्यक्रममा दुवाललाई पुरस्कार अपर्ण गरिने उहाँले जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि चितवन जिसस प्रमुख नारायणप्रसाद अधिकारी रहनु हुने छ ।

उक्त कार्यक्रममा पुरस्कार अर्पणका साथै सम्मानका अन्य कार्यक्रमहरु पनि हुने छन् । भारत रामनगरमा रहेका नेपालीभाषी समाजसेवी रञ्जन उपाध्याय, शर्माका जिजुवुवा देविप्रसाद उपाध्यायले लेखेको भारतीय उपन्यास ‘सुन्दर सरोजनी’लाई नेपाली भाषामा उल्था गर्ने चितवनका साहित्यकार प्राडा नारायणप्रसाद खनाल लगायतलाई सो अवसरमा सम्मान गर्ने कार्यक्रम रहेको हाम्रो सिर्जनका प्रकाशक डिआर पोखरेलले जानकारी दिनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>