इच्छकामना

इच्छाकामनाको १४औँ गाउँसभाः एक सय एक योजना संशोधन र थप

Banner

रोहिणी त्रिपाठी,

मुग्लिन,माघ १०-

चितवनको इच्छाकामना गाउँपालिकामा एक सय एक योजना संशोधन तथा थप गरिएको छ । बुधबार सम्पन्न १४औँ गाउँसभाले योजना संशोधन र नयाँ योजना थप गरेको हो । सभाले चालु खर्चतर्फ एक करोड ५४ लाख ८० हजार चालु खर्च कटौती र ५९ लाख ८० हजार चालु खर्च तर्फ थप गरेको छ । यस्तै पुँजीगततर्फ एक करोड ९० लाख ८० हजार रुपैयाँ कटौती र दुई करोड ८५ लाख ८० हजार थप गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत २२ वटा कार्यक्रमको ४८ लाख रुपैयाँको योजना स्वीकृत गरिएको प्रस्ताव सर्वसम्मतले गाउँसभाबाट पारित गरिएको उहाँले बताउनुभयो ।

उपाध्यक्ष माया सिलवालले रकमानान्तर तथा बजेट संशोधन प्रस्ताव सभामा पेश गर्नुभएको थियो । उक्त प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको छ । प्रस्तावलाई गाउँसभाध्यक्ष दानबहादुर गुरुङले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा सभामा भौतिक तथा पूर्वाधार योजनाका सभापति रुद्रप्रसाद उप्रेतीले इच्छाकामना गाउँपालिकामा भइरहेका विकासका पूर्वाधाहरुको प्रगति प्रतिवेशन पेस गर्नुभएको थियो ।

गाउँपालिकाले चालुतर्फ पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन खर्चको १५ लाख रुपैयाँ घटाइएको छ । यस्तै सीप विकास तथा जनचेतना तालिक तथा गोष्ठीको १० लाख रुपैयाँ, उद्धार राहत तथा पुनःस्थापना खर्चको १० लाख रुपैयाँ, आर्थिक समृद्धिका लागि सामाजिक परिचालनबाट ७० लाख रुपैयाँ कटौती गरिएको छ । शैक्षिक संस्थाहरुलाई सहायतामा १० लाख रुपैयाँ थप गरिएको छ ।

साथै अस्पताल स्वास्थ्यमा कम्प्युटर, प्रिन्टर व्यवस्थापनका साथै इच्छाकामना आधारभूत अस्पतालबाट स्वास्थ्य बिमा लागू गर्न इएमआरएस प्रविधि व्यवस्थापनमा ११ लाख रुपैयाँ थप गरिएको छ । पुँजीगत प्रकृतिको योजनाहरुमा पुँजीगत परामर्श खर्चको १० लाख रुपैयाँ घटाइएको छ । यस्तै चैवुङ ढाप सडक स्तरोन्नती आरसिसी ढलानबाट १५ लाख रुपैयाँ, लामो झरनामा पर्यटन पूर्वाधार निर्माणबाट २५ लाख रुपैयाँ, पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार निर्माणबाट १५ लाख रुपैयाँ घटाइएको छ ।

प्रदेश तथा संघ समपूरकको गाउँपालिका तर्फको बचत रकम ७० लाख रुपैयाँ रहेकाले अन्य आयोजना कार्यन्वयन गर्न प्रस्ताव गरिएको छ । वाइनटु वाटरसँग साझेदारीका लागि अपुग रकम ८३ लाख रुपैयाँ, कुरिनघाट बजार मोज्याक टायल छाप्न ६ लाख रुपैयाँ, वडा नम्बर ३ को कार्यालय पूर्वाधार निर्माणमा १४ लाख रुपैयाँ, वडा नम्बर ६ को कार्यालय पूर्वाधार निर्माणमा २३ लाख रुपैयाँ, पिपलटारचोक बङ्गुर फर्म सडक स्तरोन्नतीमा ६ लाख रुपैयाँ, प्रकोप व्यवस्थापन कोषमा अनिवार्य दायित्वको १० लाख रुपैयाँ, मायाटार गुरुङ होमस्टे सम्पन्न गर्न ६ लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा सम्झौता भई अनिवार्य दायित्व सिर्जना भएका भुक्तानीहरुको दिन बाँकी भुक्तानीका लागि २६ लाख रुपैयाँ थप गरिएको छ ।

चालु आर्थिक वर्षमा योजना कार्यन्वयनको अवस्था तीव्र गतिमा अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा भौतिक पूर्वाधारका विभिन्न योजना कार्यन्वयनका गर्न उपभोक्ता समिति मार्फत हुन नसकेका र चालु प्रकृतिका अन्य समानीकरण अनुदान शीर्षकमा विनियोजन भएका कार्यक्रम तथा शीर्षकहरुबाट रकमानान्तर गर्नेगरि रकमान्तर तथा संशोधन गरिएको गाउँपालिकाले जनाएको छ ।

चालु बजेटमा खानेपानीतर्फ सबैभन्दा धेरै रकम थप गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले कृषि एम्बुलेन्स र शैक्षिक पूर्वाधारका लागि थप बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रलाई पनि गाउँसभाले प्राथमिकतामा राखेको छ । अध्यक्ष गुरुङले गाउँसभा पश्चात तीव्र गतिमा काम गरिने बताउनुभयो । उहाँले सम्झौता भएका र बाँकी कामलाई परिणाम देखिनेगरी कार्यान्वनयनमा लैजानै प्रतिबद्धता जनाउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>