चितवन विशेष

चितवनको राप्ति नगरपालिकाले सञ्चालनमा ल्यायो चेपाङ् बालबालिकालाई आवासीय विद्यालय

Banner

चितवन, माघ ९-

राप्ति नगरपालिकाले घर टाढा भएका विपन्न चेपाङ् बालबालिकालाई लक्षित गर्दै तीन वटा आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । यसबाट ग्रामीण क्षेत्रका बालबालिका लाभान्वित भएका छन् । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार चालु शैक्षिक सत्रबाट दुईवटा विद्यालयमा आवासीय व्यवस्थापनको सुरुवात गरिएको हो । एउटा विद्यालयमा नगरपालिकाले यस अघिनै आवासीय कक्षा सञ्चालन गरेको थियो । उहाँका अनुसार राप्तीको विकट गाउँ कान्दामा रहेको कान्देश्वरी आधारभूत विद्यालयमा यसै शैक्षिक सत्रबाट नगरपालिकाले आवासीय कक्षा सञ्चालन गरेको हो । यसअघि मितेरी फाउण्डेशन र लक्ष्मी प्रतिष्ठानले आवासीय विद्यालय सञ्चालन गर्दै आएकोमा यस वर्षबाट नगरपालिकाले सहयोग गर्न थालेको हो । त्यहाँ एक सय ५० जना चेपाङ बालबालिका अध्ययनरत छन् । फाउण्डेशन र प्रतिष्ठानले भौतिक संरचना यस अघिनै बनाएको थियो ।

त्यहाँ कार्यरत दुईजना शिक्षक-कर्मचारीको खर्च व्यवस्थापन तीनै संस्थाले गर्दै आएका छन् भने अन्य व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको छ । यो राप्ती नगरपालिका–१३ मा पर्दछ । जिल्लाको सबैभन्दा विकट ठाउँको रुपमा यो चिनिन्छ । राप्ती नगरपालिका–१२ एउराली टारस्थित गणेश माविमा आवासीय कक्षा सञ्चालन गरिएको छ । त्यहाँ १०४ जना बालबालिका आवासीय रुपमा बस्दै आएका छन् ।

न्यून सङ्ख्यामा तामाङ बालबालिका समेत भए पनि अधिकांश चेपाङ् छन् । यस्तै सोही नगरपालिका–१ महादेश टारमा रहेको विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिएको छ । त्यहाँ परेवाकोटको माथिल्लो भूभागका चेपाङ् र तामाङ समुदायका बालबालिकाले आवासीय रुपमा अध्ययन गर्दै आएका छन् ।

यो विद्यालयमा आवासीय कार्यक्रम यसै शैक्षिक सत्रबाट सुरु गरिएको हो । हाल यहाँ ३८ जना बालबालिका अध्ययनरत छन् । विद्यालयभन्दा टाढा घर भएका बालबालिकालाई आवासमा राखेर पढाइएको हो । आर्थिक अभावका कारण विद्यालय जान समस्या भएका अति विपन्न परिवारलाई लक्षित गरी यो कार्यक्रम सञ्चालनमा ल्याइएको नगरप्रमुख लामाले जानकारी दिनुभयो ।

नगरपालिका–१०, ११, १२ र १३ पहाडी भूभागमा पर्दछ । वडा नं १ महादेवटारमा पहाडका बालबालिका ल्याएर आवासीय रुपमा पढाइएको हो । यो कार्यक्रम सुरु गरिएसँगै बीचमा विद्यालय छोड्ने क्रम घट्ने लामाको विश्वास छ । पहाडी भूभागमा अधिकांश चेपाङ समुदाय बसोबास गर्दछन् । आर्थिक अभावका कारण बिचैमा कक्षा छोड्दा उनीहरुको शैक्षिक अवस्था कमजोर छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>