खैरहनी

चितवनको खैरहनीमा विपन्न बालबालिकाका लागि गृहकार्य कक्षा सञ्चालन

Banner

भरतपुर,माघ ८-

चितवनको खैरहनी नगरपालिकाले बालबालिकाका लागि गृहकार्य कक्षा सञ्चालन गर्न सुरु गरेको छ । गरिब तथा बिपन्न समुदायका बालबालिकाको शैक्षिक सुधारका लागि नगरपालिकाले बस्तीमै गृहकार्य कक्षा सञ्चालन गर्न सुरु गरेको हो ।
सामुदायिक विद्यालयमा कक्षा १ देखि पाँच सम्म अध्ययन गर्ने बालबालिकाको लागि अतिरिक्त कक्षाका रुपमा गृहकार्य कक्षा सञ्चालन हुनेछ । आइतबार वडा नं ८ मगनीस्थित राष्ट्रिय आधारभूत विद्यालयमा नगर प्रमुख शशीकुमार खनियाले गृहकार्य कक्षाको शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले अध्ययनको लागि घरमा अभिभावकको सहयोग लिन नपाएका र विद्यालयको मात्रै भरमा रहेका विद्यार्थीहरुको सहजताको लागि वस्तीमै गृहकार्य कक्षा सुरु गरिएको जानकारी दिनुभयो ।

विपन्न परिवारका बालवालिकाका अभिभावकको शैक्षिक योग्यता कम हुने र उनीहरु दैनिक ज्यालामजदुरी गरेर पेट पाल्नुपर्ने वाध्यतामा आफ्नो बालवालिकालाई अध्ययनको लागि समय दिन नसकेको उहाँले बताउनुभयो । नगरपालिका भित्र विभिन्न २८ स्थानमा गृहकार्य कक्षा सुरु गरिएको उहाँले जानकारी दिनुभयो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरि सुरु गरिएको गृहकार्य कक्षाले विपन्न परिवारका विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि हुने अपेक्षा लिएको उहाँले बताउनुभयो । ‘गृहकार्य कक्षाको लागि लक्षित वस्ती नजिक विद्यालय भए विद्यालयमै र नभए कोठा भाडामा लिएर समेत पढाउँछौं,उहाँले भन्नुभयो, बस्ने कुर्ची वा म्याट र लेख्नको कापी कलम समेत नगरपालिकाले उपलब्ध गराउनेछ ।’
गृहकार्य कक्षाको सहायताले विपन्न परिवारका बालवालिकामा विद्यालयपश्चात् पनि पढ्नेलेख्ने वानीको विकास हुने,अभिभावकको समय अभावमा समेत बालबालिकामाथी निगरानी र संरक्षण प्राप्त हुने खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले बताउनुभयो । गृहकार्य कक्षा उद्घाटन कार्यक्रममा बोल्दै खैरहनी ८ का वडा अध्यक्ष शंकर कंडेलले विहानैदेखी काममा जानुपर्ने अभिभावक र निरक्षर अभिभावकका बालवालिकाहरुलाई गृहकार्य कक्षाले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गहृकार्य कक्षा कार्यक्रममा नगरपालिकाका करिब ७ सय ८४ जना विद्यार्थी लाभाम्वित हुने खैरहनी नगरपालिकाका शिक्षा अधिकृत रविन्द्र देवकोटाले बताउनुभयो । वडाको सिफारिस अनुसार गृहकार्य कक्षाको लागि सहजकर्ता खटाइएको उहाँले जानकारी दिनुभयो । सहजकर्ताहरुमा बहालवाल शिक्षक, स्वयम्सेवक शिक्षक र कक्षा १२ उत्तिर्ण गरेकाहरु रहेका छन । नगरपालिकाले यसअघि सामुदायिक विद्यालयहरुमा विषयगत अध्ययन गराउन ५८ जना स्वयम्सेवक शिक्षकहरु खटाएर पठनपाठन गराउदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>