खैरहनी

चितवनमा खिचरा महोत्सव सुरु

Banner

चितवन,पुस २९-

थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर शनिबारदेखि चितवनको खैरहनी ‘नवौं खिचरा महोत्सव’ सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका आर्थिक मालिला तथा योजना मन्त्री बाहादुरसिंह लामाले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री लामाले कला संस्कृति जगेर्ना गर्न थारु समुदायले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । आदिवासी थारु समुदायको मौलिक रहन सहन, पोशाक र परिकारहरु प्रबद्र्धनले बागमती प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।

चितवनका आदिवासी सुमदाय थारुहरुले माघ एक गतेलाई नयाँ वर्षका रुपमा ‘खिचरा पर्व’ भनेर मनाउने गर्दछन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले खिचराको अवसरमा हरेक वर्ष महोत्सव गर्दै आएको छ । यसबर्ष खैरहनी नगरपालिका वडा नम्वर ५ को गौचरनमा महोत्सव आयोजना गरिएको छ ।

आदिवासी थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रबद्र्धन गर्न थारु कल्याणकारिणी सभाले खिचरा महोत्सव सुरु गरेको सभाका पुर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले बताउनुभयो । महोत्सवमा थारु संस्कार संस्कृतिका साथै जिल्लाको कृषि र आर्थिक क्षेत्रलाई पनि टेवा दिन महोत्सव परिसरमा उद्योग, व्यपार, कृषि र पर्यटनसँग सम्बन्धित १५० वटा स्टलहरु राखिएको मुल आयोजक समितिका संयोजक रामेश्वर चोधरीले जानकारी दिनुभयो ।

यस्तै थारु समुदायका परिकारहरु घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टलहरु पनि महोत्सवमा छन् । थारु समुदायका मौलिक गीत र नाँचहरु महोत्सवमा प्रस्तुत हुनेछन । पछिल्लो समय हराउँदै जान लागेका ठेकरा, झमटा, झुमरा, रसधारी, झररा, लाठी नाँच जस्ता साँस्कृतिक नृत्यहरु महोत्सव अवधिभर प्रस्तुत हुने संयोजक रामेश्वर चौधरीले बताउनुभयो ।

महोत्सव स्थलमा थारु समुदायको ब्रहृम थानदेखि हस्तकलाका सामाग्री र घोगी र चिच्चर पोकाको मुर्तीहरु प्रदर्शनीका लागि राखिएको छ । महोत्सव माघ १० गतेसम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>