कृषि

चितवनका दूग्ध किसान भन्छन्: डेरी उद्योगबाट भुक्तानी पाउन मुस्किल भयो

Banner

चितवन, पुस २८-

चितवनका दूग्ध उत्पादक किसानले डेरी उद्योगबाट दूधको भुक्तानी पाउन मुस्किल हुने गरेको गुनासो गरेका छन् ।

खैरहनी नगरपालिका–१० शान्तिबजार स्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभामा किसानहरुले यस्तो गुनासो गरेका हुन् ।

सहकारीको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा तीन करोड ८९ लाख बराबरको दूध डेरी उद्योगले लगेका थिए । डेरी उद्योगले दूध खरिद गरिरहेता पनि भुक्तानी दिन विलम्ब गर्ने गरेका छन् ।

बागमती प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री जेएन थपलिया प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागीहरुले दूध बिक्री र रकम भुक्तानीमा समस्या हुँदा मिल्क होलिडेको चिन्ता रहेको जनाए ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुधको मिल्क होलिडे हुने सम्भावना रहेकाले वैकल्पिक उपाय सोच्नु पर्ने बताए । सरकारले दुधको मुल्य तोके पनि डेरी उद्योगले आफूखुसी मूल्य निर्धारण गर्दा किसान मर्का परेको उनले बताए । ‘सरकार एउटा मुल्य तोक्छ, डेरी उद्योगले आफूखुसी मूल्य तोकेर पठाउँछ’ कोषाध्यक्ष उप्रेतीले भने, ‘यसको प्रत्यक्ष मार किसानलाई परेको छ ,जसका कारण मिल्क होलिडेको चिन्ता बड्दैछ । दूधमा देखिएको समस्या केही महिना सम्म देखिने भएकाले किसानले प्रयोग बढाउनु पर्ने, दुग्धजन्य पदार्थ बनाउनु पर्ने सुझाव दिए । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य डिल्लीप्रसाद थपलियाले कतिपय सहकारीमा मिल्क होलिडे भइसकेको भन्दै स्थानीय स्तरमा खपत बढाउनु पर्ने बताए ।

बर्षौदेखि दुध क्षेत्रमा समस्या देखिदै आएकाले दुधको विविधिकरणमा जोड दिनुपर्ने थपलियाले बताए । संस्थाका अध्यक्ष श्याम नारायण फुयालले डेरी उद्योगबाट भुक्तानी नआउँदा किसानलाई बितरण गर्न समस्या देखिएको बताए । उद्योगबाट २५ लाख रुपैयाँ बढी भुक्तानी हुन बाँकी रहेको उनले जानकारी दिए । ‘उद्योगले भुक्तानी नदिँदा किसानलाई वितरण गर्न पाइएको छैन’ , अध्यक्ष फुयालले भने, ‘उल्टै दूधको मूल्य आफैले तोकेर पठाएका छन् ,यसले भोलिका दिनमा मिल्क होलिडे हुने डर छ ।’

यो सहकारीले गत वर्ष ६७ लाख ७७ हजार रुपैयाँको दुग्धजन्य पदार्थ तथा ३५ लाख ३३ हजारको नौनी ध्यू बिक्री गरेको छ ।संस्थाका अध्यक्ष फुयालले वार्षिक प्रतिबेदन, लेखा समिति संयोजक सुन्दर मैनालीले लेखा सुपरीवेक्षण प्रतिबेदन र ब्यबस्थापक लिलाबहादुर थपलियाले प्रस्तुत गरेको अनुमानित आयब्यय प्रतिबेदन साधारण सभाले पारित गरेको छ ।

खैरहनी नगरपालिका वडा नं १० शान्तिबजार स्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानहरूले गत आर्थिक वर्ष २०७९÷०८० मा ६ करोड रुपैयाँ भन्दा बढीको दूध उत्पादन गरेका छन् । गत वर्ष ६ करोड ३७ लाख ८४ हजार ६७९ रुपैयाँको दूध उत्पादन गरेका हुन् । यो दुग्धजन्य पदार्थ उत्पादनमा प्रयोग भएको दूध बाहेक मात्र हो । उत्पादित दूध मध्य डेढ करोड भन्दा बढीको स्थानीय स्तरमा खपत भएको छ । संस्थाका व्यवस्थापक थपलियाका अनुसार गत वर्ष एक करोड ५९ लाख ५० हजारको दूध स्थानीय स्तरमा बिक्री भएको छ । निजी डेरी उद्योगले यस संस्थाबाट चार करोड ७८ लाख ३३ हजारको दूध खरिद गरेका छन् ।

कार्यक्रममा खैरहनी ७ का वडा अध्यक्ष मनेजर महतो, जिल्ला दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष छविलाल भुषाल, नगर स्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति खैरहनीका संयोजक राजेन्द्रप्रसाद सडौलाले मन्तव्य राखेका थिए । सो अवसरमा अत्याधिक दूध बिक्री गर्ने १० जना किसान, गुणस्तरीय दुध बिक्री गर्ने २० जना किसान, ६ जना विद्यार्थी तथा २५ जना शेयर सदस्यलाई सम्मान गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>