चितवन विशेष
कालिका पावरले दियो १० प्रतिशत बोनस सेयर

चितवन, पुस २८-
कालिका पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई दिने बोनस सेयर घटाएको छ । अघिल्लो बर्ष १५ प्रतिशत बोनश सेयर दिएको कम्पनीले चालु आर्थिक बर्षमा ५ प्रतिशत घटाएर १० प्रतिशतमा झारेको हो ।
कम्पनीको आज (शनिबार) भरतपुरमा भएको १६ औँ वार्षिक साधरण सभाले चुक्त्ता पुँजीको १० प्रतिशत सेयर बोनस दिने निर्णय गरेको छ ।
कम्पनीको गत आर्थिक वर्ष संचित मुनाफा चुक्ता पुँजी ७९ करोड ३५ लाख रुपैयाँ छ । त्यसको १० प्रतिशतले हुन आउने ७ करोड ९३ लाख रुपैयाँ बोनस सेयर दिने निर्णय भएको कम्पनीका लेखा अधिकृत प्रविण थपलियाले जानकारी दिए ।
कम्पनीले घोषणा गरेको लाभांस विद्युत नियमन आयोगबाट स्विकृत गरेपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीले कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांस समेत दिनेछ । त्यसका लागि ४१ लाख ७६ हजार ३१६ रुपैयाँ स्वीकृत भएको छ ।
कम्पनीको गतबर्षको नाफा समेत घटेको छ । कम्पनीले आर्थिक बर्ष २०७९/०८०मा ७ करोड ३६ लाख ८९ हजार २५४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ८ करोड ११ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यस बर्ष समयमा पानी नपर्दा विद्युत उत्पादनमा कमी आएको कम्पनीका लेखा समितिका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।
बार्षिक साधारण सभाले कम्पनीको पूँजी बृद्धि गर्न नियम संशोधन समेत गरेको छ । संस्थाले दरौदी ग्यासियर हाइड्रो अन्तरगतको
२०६४ सालमा स्थापना भएको कालिका पावर कम्पनीले गोरखाको अजिरकोट गाउँपालिका स्थित दरौदी खोलाबाट विद्युत उत्पादन गरेको छ । गत वर्षमात्रै कम्पनीले ३ करोड ८ लाख ९८ हजार हजार यूनिट विद्युत उत्पादन गरेको थियो । त्यसबाट १९ करोड १७ लाख ७५ हजार ७९२ रुपैयाँ आम्दानी गरेको कालिका पावरले जानकारी दिएको छ ।
२०७३ सालबाट विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गरेको कालिका पावरले ६ हजार किलोवाट क्षमताको जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । यसका लागि २१०४ सम्मको अनुमति पत्र पाएको छ ।
कालिका पावरको संस्थापक सेयरधनी पुँजी ७० प्रतिशत र सर्वसाधरण पुँजी ३० प्रतिशत रहेको छ । कम्पनीले गोरखाको दरौदी खोलामा प्रस्तावित माथिल्लो दरौदी बि साना विद्युत आयोजना र माथिल्लो दरौदी सि साना जलविद्युत आयोजनामा ५० प्रतिशत शेयर राख्ने निर्णय समेत गरेको छ । यी दुईवटा आयोजनाले १७ दशमलव ८५ मेगावाट विद्युत निकाल्ने लक्ष्य राखेको छ । यस कम्पनीको सञ्चालक समितिको अध्यक्ष विक्रम पाण्डेको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो ।


























