खैरहनी

खैरहनीमा वडा स्तरिय कृषि तालिम सुरु

Banner

चितवन, पुस २०-

खैरहनी नगरपालिकाले कृषकको माग र भूगोल अनुसार उपयुक्त हुने खेतीको लागि तालिम सुरु गरेको छ । वडामा सम्भावना रहेको खेती र कृषकको माग अनुसार प्रत्येक वडामा तालिम दिने योजना अनुरुप बिहीवार खैरहनी नगरपालिका वडा नम्बर २ बाट तालिम दिन सुरु गरिएको छ । खैरहनी नगरपालिका–२ मा भेडे खुर्सानी र खुर्सानी खेती प्रविधिको विषयमा तालिम दिइएको खैरहनी नगरपालिकाको कृषि शाखा प्रमुख गौरव न्यौपानेले जानकारी दिए ।

खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले तालिमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले उत्पादन वृद्धि गर्न भुगोल सापेक्ष र कृषकको माग अनुसार प्रत्येक वडामा तालिम सञ्चालन हुने बताए । प्रत्येक वडामा कृषकको माग र त्यहाँको खेतीको सम्भावना फरक फरक हुने भएकोले वडापिच्छे विभिन्न खेतीसँग सम्बन्धित तालिम हुनसक्ने नगर प्रमुख खनियाँले बताए ।

खैरहनी नगरपालिकाले कृषिमा धेरै कार्यक्रमहरु ल्याएको पनि उनले बताए । खेती गर्न इच्छुक तर जग्गा नहुनेलाई नगरपालिकाले जग्गा भाडा तिरिदिने गरि जग्गा उपलब्ध गराउने, किसान तपाईलाई के चाहिन्छ ? भन्ने कार्यक्रम अन्र्तगत मोटर, बोरिङ, पाइप अनुदानमा वितरण, कृषि एम्बुलेन्सको अवधारणा अनुरुप एक फोनमा कृषि प्राविधिक कृषकको खेतवारीमा हुने लगायतको कार्यक्रम ल्याएको उनले बताए ।

तालिम लिएकाहरु समूह बनाएर खेती तथा व्यवसाय गर्न इच्छुक भए नगरपालिकाले विउ पुजी समेत प्रदान गर्ने गरि अगाडी बढेको उनले बताए । उनले अघिल्लो बर्ष नगरपालिकाले मकैमा अनुदान दिएको र यसबर्ष प्याज खेतीमा अनुदान दिएको भन्दै त्यसको फाइदा लिन कृषकहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै खैरहनी–२ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेतीले वडाले छनौट गरेको विषयमा नगरपालिकाले तालिम आयोजना गरेको भन्दै तालिमको सदुपयोग र व्यवहारमा लागु गर्न आग्रह गरे । पछिल्लो समय बेरोजगारी बढेको र कृषिबाट विस्थापित भइरहेको अवस्थामा यस्ता तालिमको माध्यमबाट पुनः कृषिमा लाग्न प्रेरित हुने बताए ।

खैरहनी–२ को विभिन्न टोल विकास संस्थाबाट सिफारिस भएर आएका ३० जनालाई भेडे खुर्सानी र खुर्सानी खेती प्रविधि, त्यसमा लाग्ने रोग किरा र त्यसको व्यवस्थापन, प्राङ्गारिक मल तयारी विधि, समुचित विषादीको प्रयोग लगायतको विषयमा प्रशिक्षण दिइएको कृषि शाखा प्रमुख न्यौपानेले बताए । खैरहनी नगरपालिकाका कृषि शाखा प्रमुख गौरव न्यौपाने, कृषि शाखाकै नित्या दाहाल, धु्रव आचार्य र यमुना सापकोटाले प्रशिक्षण दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>