इच्छकामना

इच्छाकामनाका किसानलाई कृषि सामग्री वितरण

Banner

मुग्लिन (चितवन), पुस १९-

चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकाले सुन्तलाखेती गर्ने उत्कृष्ट कृषि समूह र सहकारीमा आबद्ध किसानलाई बुधबार कृषि सामग्री वितरण गरेको हो ।

गाउँपालिकाले ६० वटा क्रेट, कृषिजन्य, तरकारी तौल गर्ने छवटा डिजिटल मेसिन, एक हजार किलो कृषि चुन, एक सय किलो शुष्म पोषण तत्व, सुन्तला टिप्न प्रयोग गरिने २४ वटा कैँची पाँचवटा कृषि समूह र एक सहकारीलाई कृषि सामग्री वितरण गरिएको जनाएको छ ।

सुन्तला महोत्सवको समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षीमन्त्री डा राजेन्द्रमान श्रेष्ठले किसानलाई ती सामग्री वितरण गर्नुभएको हो । सो अवसरमा श्रेष्ठले सामूहिक खेतीमा जोड दिन सुझाव दिनुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “हामीले एक्लाएक्लै खेती धेरै गरयौँ, समस्यासँग जुध्न जानेनौँ सकेनौँ पछाडि पर्दै गयौँ, त्यसैले अब हामी सामूहिक ढङ्गले कृषि गर्ने कुरामा जोडिरहेका छौँ ।” उहाँले बागमती प्रदेश सरकारले सामूहिक खेतीका लागि अनुदानको व्यवस्था गरेको बताउनुभयो । प्रत्येक पालिकाको एउटा वडामा एउटा कृषि उपजका रूपमा पकेट क्षेत्र घोषणा गर्न गइरहेको जानकारी दिनुभयो ।

“सामूहिककरणका लागि केही दिनमै हामी प्रत्येक पालिकाको एउटा वडालाई एउटा कृषि उपजको रूपमा पकेट क्षेत्र घोषणा गर्न गइरहेका छौँ । प्रदेश सरकारले तत्कालै रु ४० लाखभन्दा बढी अनुदान दिने छौँ”, उहाँले भन्नुभयो, “त्यसमा पालिकाबाट १५ प्रतिशत र कृषकबाट १५ प्रतिशत लागानी हुने छ । पचासदेखि एक सय जना कृषक मिलेर सामूहिक ढङ्गले खेती गर्न सकिने छ ।” आधुनिक औजार प्रयोग गरी कृषिलाई व्यावसायिकरूपमा औद्योगिकीकरण गरेर जान सामूहिक खेती आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीले सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा गर्न पहल भइरहेको बताउनुभयो । राष्ट्रिय फल घोषणा गर्न मन्त्रालयमा फाइल पुगेको र छलफल भइरहेको बताउनुभयो ।

इच्छाकामना उत्पादन हुने सुन्तलाबारे आफू जानकार रहेको बताउँदै उहाँले यहाँ आएर बोटमै सुन्तला खान पाउँदा खुसी लागेको बताउनुभयो । थोरै लागनीमा धेरै आम्दानी गर्न सकिने उहाँको भनाइ छ । सुन्तलाको बजारीकरण तथा किसानलाई प्रोत्साहन गर्न सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।

सुन्तला महोत्सवमा कसले धेरै सुन्तला खाने प्रतियोगिता आयोजना गरिएको थियो । सो अवसरमा दक्ष कृषि प्राविधिकद्वारा रोगव्यादीसम्बन्धी तालिम दिनुका साथै स्थानीय उत्पादनको परिकार पाहुनलाई खुवाइएको थियो । महोत्सवमा स्थानीय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकी प्रस्तुत समेत गरिएको थियो । महोत्सव पुस १६ देखि १८ गतेसम्म चलेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>