चितवन विशेष
सहज तरिकाले व्यवसाय गर्ने वातावरण सिर्जना गर्न मेराे उम्मेदवारी : श्रेष्ठ

चितवन, पुस १९–
उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशन नजिकिँदै गर्दा उमेदवारहरुको चुनावी अभियानले तीव्रता पाएको छ। यही क्रममा अध्यक्ष पदका उमेदवार सुमनकुमार श्रेष्ठ नेतृत्वको समूहले बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो समूहको उमेदवारी र चुनावी एजेण्डा सार्वजनिक गरेको छ। उद्योग वाणिज्य संघमा करिब दुई दशक लामो यात्रापछि अध्यक्ष पदको लागि आफूले पहिलोपटक उमेदवारी दर्ता गराएका अध्यक्ष पदका उमेदवार श्रेष्ठले जानकारी गराए।
संघमा बसेर काम गरेको कार्यानुभव तथा व्यवसायीको समस्यालाई नजिकबाट नियाल्दै आएको आधारमा आफूले नेतृत्व सम्हाल्ने लक्ष्य लिएको उनले बताए। पछिल्लो समय व्यवसाय नै धरापमा परेको भन्दै त्यस्ता व्यवसायीलाई संरक्षण गर्ने र देशभित्रै सहज तरिकाले व्यवसाय गर्ने वातावरण सिर्जना गर्नको लागि एक पटक संघको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।
सरकारले लागू गरेको कर तथा राजस्व नीतिका कारण उद्योगी, व्यवसायी नै संकटमा परेको बताउँदै उनले भने, ‘संघमार्फत सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्नको लागि पनि मैले अध्यक्ष पदमा उमेदवारी दिएको हुँ।’ त्यसबाहेक बजारको हालको अवस्थालाई सुधार्न, पूर्वी चितवनबाट आउने सवारीसाधनलाई नारायणगढ बजारसम्म झार्न र बजारको अव्यवस्थित सवारी पार्किङलाई व्यवस्थित तुल्याइ व्यवसायलाई सहज बनाउनको लागि सही नेतृत्व आवश्यक परेको हुँदा आफूले उमेदवारी दर्ता गराएको उनको भनाइ छ।
बुधबार भएको पत्रकार सम्मेलनका क्रममा संघको वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिएका चिरञ्जीवि सुवेदीले आफू संघमा रहँदा विभिन्न तह र तप्कामा बसेर नेतृत्व सम्हाल्दै यहाँसम्म आइपुगेको हुँदा यसपटक संस्थागत तालिकाअनुसार एक तह माथि उक्लिँदै वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिएको बताए। चितवनका व्यवसायी र तिनका समस्याबारे आफू निकट रहेकै कारण समस्या समाधानको लागि जुनसुकै पहल कदमी चाल्न सकिने उनको दाबी छ।
वाणिज्यतर्फका उपाध्यक्ष पदमा उमेदवारी दर्ता गराएका राजेन्द्र ओली र वस्तुगत तर्फको उपाध्यक्ष पदमा उमेदवारी दिएका नारायण प्रधानले पनि सक्षम नेतृत्वको लागि उद्योग वाणिज्य संघको निर्वाचनमा सुमनकुमार श्रेष्ठ नेतृत्वको समूहलाई जिताइदिन आग्रह गरेका छन्। व्यावसायिक हकहितका लागि जुनसुकै समय र जुनसुकै तहमा रहेर पनि काम गर्न तयार रहेको हुँदा मतदाताले एक पटक श्रेष्ठ नेतृत्वको समूहलाई जिताउनेमा आफू ढुक्क रहेको उपाध्यक्ष पदका उमेदवार ओलीले जिकिर गरे।
अधिकारी उपाध्यक्षमा सर्वसम्मत
उद्योगतर्फको उपाध्यक्ष पदमा भने अशोक अधिकारी सर्वसम्मत भएका छन्। तथापि आधिकारिकरूपमा घोषणा हुन भने बाँकी छ। उनका प्रतिद्वन्द्वीका रूपमा उमेदवारी दिएका थिरप्रसाद धितालले उमेदवारी फिर्ता गराएपछि उनी सर्वसम्मत भएका हुन्। धितालले बुधबार भएको संयुक्त पत्रकार सम्मेलनबाटै आफूले अशोक अधिकारीलाई समर्थन जनाउँदै निर्वाचनमा नजाने बताएपछि अधिकारीको पद सुनिश्चित भएको हो।
दुवैले संयुक्तरूपमा हस्ताक्षरसहितको प्रेस विज्ञप्ति नै जारी गरेर बाटो खुला गरिदिएका छन्। फलफूल तथा तरकारी व्यवसायी धितालले उद्योग वाणिज्य संघमा दुई कार्यकाल कार्यसमिति सदस्य पदमा रहेर काम गरिसकेका छन्। सोही आधारमा उमेदवारी दर्ता गराए पनि प्राविधिक कारणले समयमै उमेदवारी फिर्ता गर्न नसकेको बताउँदै आसन्न निर्वाचनमा आफू चुनाव नलड्ने घोषणा गरेका हन्।

























