चितवन विशेष
सप्तगण्डकी क्याम्पसमा भएको हाजिरी जवाफ प्रतियोगितामा शिक्षा संकायको कक्षा १२ पहिलो

चितवन, पुस १७-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा भएको अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगिताको उपाधि कक्षा १२ शिक्षा संकायले जितेको छ ।
अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीको आयोजनामा आज भएको दोस्रो अखिल हाजिरी जवाफ प्रतियोगितामा ३५ टिमलाई पछि पार्दै कक्षा १२ को शिक्षा संकाय पहिलो भएको हो ।
प्रतियोगितामा १९ अंक प्राप्त गरेर विजयी भएको कक्षा १२ को शिक्षा संकायले १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल र ट्रर्फी प्राप्त गरेको छ । त्यस्तै बीबीएस तेस्रो वर्षले १४ अंक ल्याएर दोस्रो भएको छ । दोस्रो भएको यस समूहले ५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष महेश सापकोटाले जानकारी दिए ।
सापकोटाकाअनुसार १० अंकसहित तेस्रो स्थानमा रहेको बीएड तेस्रो वर्षले तीन हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । कमिटीले प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरुलाई पनि प्रमाणपत्र दिएको छ । फाइनलमा १० टिमबीच प्रतिस्पर्धा गरेर विजेता टिमहरु छुट्याएको सापकोटाले बताए । विद्यार्थीको बौद्धिक क्षमता वृद्धि गर्ने उद्देश्यले अनेरास्ववियु क्याम्पस कमिटीले पहिलो पटक विभिन्न संकायमा अध्ययनरत विद्यार्थीबीच गरेको प्रतियोगिता सफलतापूर्वक समपन्न भएको उनले बताए ।
प्रतियोगितामा विषयगत तथा समयसामायिक राजनीतिक प्रश्न सोधिएको थियो । अनेरास्ववियु सप्तगण्डकी क्याम्पसका अध्यक्ष महेश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बाग्मती प्रदेश सदस्य अश्विन घिमिरेको प्रमुख अतिथि थिए । मुख्य प्रयायोजक सेन्ट्रल कलेज रहेको थियो । सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल(वाइबि) ले विद्याथीहरुको क्षमता अभिवृद्धि गर्नका लागि हाजिरिजफल प्रतियोगितामा आफुले सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
त्यसैगरी अनेरास्ववियु बाग्मती प्रदेशका सचिव प्रकाश कालाखेती, जिल्ला कमिटीका अध्यक्ष हरि आचार्य, क्याम्पस प्रमुख खिमलाल दाहाललगायत अनेरास्ववियुका नेता, प्रध्यापक तथा विद्यार्थीको उपस्थिति रहेको थियो । अनेरास्ववियु सप्तगण्डकीका सचिवालय सदस्य अर्जुन अर्यालले प्रतियोगिता सञ्चालन गरेका थिए ।



























