चितवन विशेष
भिजिट भरतपुर २०२४ टि २० क्रिकेटः चितवन र पर्सा विजयी

चितवन, मंसिर २५-
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको चार जिल्ला सम्मिलित भिजिट भरतपुर २०२४ टि ट्वान्टी सिरिजको दोस्रो दिन पर्सा र चितवन विजयी भएका छन् । पर्साले नवलपुरलाई २५ रनले र चितवनले मकवानपुरलाई १३ रनले हराउदै जित निकालेको हो ।
आजको पहिलो खेलमा भरतपुर १५ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ्ग रोजेको पर्साले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४५ रन जोडेको थियो । ६ दशमलव २ ओभरमा ३५ रन जोड्दा ४ विकेट गुमाएर दबाबमा परेको पर्साको पारीलाई मध्यक्रममा सुरज कुर्मीले उकासेका थिए । २९ बल खेल्दै उनले ६ चौकाको मद्दतमा ३२ रन जोडेका थिए ।
अन्तिम तीन ओभरमा सेराजुल हवारी र सैफुल्लाह अन्सारीले ५१ रनको बिष्फोटक पारी खेल्दै विशाल योगफल तयार पारेका थिए । नवौं विकेटका लागि भएको साझेदारीमा सेराजुल हवारीले अविजित ४९ रन बनाए । १८ बलमा उनले ४ छक्का र ४ चौका प्रहार गरे । बलिङ्गमा नवलपुरका कमल परियारले ६ तथा शिशिर भुसाल र अपरिचित पौडेलले समान १ विकेट लिए ।
१ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको नवलपुर ७ विकेटको क्षतिमा १२० रनमा रोकियो । नवलपुरका लागि ओपनर अनिस गुरुङ्गले सर्वाधिक ४३ रन बनाए । ३२ बल खेल्दै ३ छक्का र ४ चौका प्रहार गरेका उनी कट गर्न खोज्दा पोइन्टमा क्याच दिदै पेभिलियन फर्किए । सन्देश बस्नेतले २७, विशाल पौडेलले १७ र सुदिप अर्यालले १५ रन जोडे ।
बलिङ्गमा पर्साका अल्फाज मन्सुरीले ३, चन्दन रामले २ तथा सैफुल्लाह अन्सारी र साम्सद अन्सारीले समान १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पर्साका सेराफुल हवारी बने । प्रतियोगितामा पहिलो जित निकालेको पर्साले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।
यस्तै आजको अर्को खेलमा चितवनले मकवानपुरलाई हराउदै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । १ सय ३२ रनको सामान्य लक्ष्य पाएको मकवानपुर ५ बल बाँकी अगाडि नै १ सय १८ रनमा अलआउट हुन पुग्यो । २ दशमलव २ ओभरमा २२ रन जोड्दा पहिलो विकेटका रुप ओपनर सुभ कंसकार १४ रन बनाउदै पेभिलियन फर्किए । ४८ रन बनाउदा मकवानपुरले दोस्रो विकेट विकेट गुमायो । मकवानपुरका अर्का ओपनर आस्तिक दाहाल व्यक्तिगत २० रन बनाउदा दिवस आचार्यको बलमा एलबीडब्लु धरापमा परे । त्यसपछि लगातार विकेट गुमाएको मकवानपुरले साझेदारी मध्यक्रममा साझेदारी बनाउन नसक्दा खेलको नतिजा चितवनलाई सुम्पिन पुग्यो ।
बलिङ्गमा चितवनका दानिस इकबाल र क्रिजन गुरुङ्गले ३/३, दिवस आचार्यले २ तथा नरेश प्रधान र दिपेश श्रेष्ठले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ्ग रोजेको चितवनले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रन जोड्यो । चितवनका दुइ ओपनर विकल गुप्ता र सनम बुढाथोकी खाता नै नखोल्दै आउट भएपछि टोली दबाबमा परेको थियो । मध्यक्रममा आएका स्वप्निल अधिकारी र प्रतीक श्रेष्ठले अर्धशतकीय साझेदारी गर्दै पारी उकासेका थिए । ५६ बल खेलेका अधिकारीले २ छक्का र ६ चौका प्रहार गर्दै व्यक्तिगत ६० रन बनाए । २० बल खेलेका श्रेष्ठले ३ छक्का प्रहार गर्दै २७ जोडे । अर्धशतक प्रहार गरेका चितवनका स्वप्निल अधिकारी खेलको प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत भोली लिग चरणका अन्तिम दुइ खेल हुनेछन् । पहिलो खेलमा बिहान ९ बजे पर्सा र मकवानपुर तथा दोस्रो खेलमा दिउँसो १ बजे चितवन र नवलपुर भिड्नेछन । १/१ खेल जितेको पर्सा र नवलपुर दुबैलाई फाइनलमा स्थान बनाउन खेल जित्नैपर्ने दबाब छ भने मकवानपुर लिगमा दुइ खेल हारेको मकवानपुर उपाधी होडबाट बाहिरिएको छ ।

























