अन्तर्राष्ट्रिय
विश्वकपमा भारत हारेकोमा खुसीयाली मनाएको भन्दै ७ कश्मीरी विद्यार्थी पक्राउ

कश्मीर, मंसिर १२-
एकदिवसीय विश्वकप २०२३ मा भारतको पराजयको खुसी मनाएको भन्दै कश्मीरको कृषि विश्वविद्यालयका ७ विद्यार्थी पक्राउ परेका छन् । यी विद्यार्थीहरू विरुद्ध यूएपीए अर्थात् गैरकानुनी गतिविधि (रोकथाम) ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
इन्डियन एक्सप्रेसको समाचार अनुसार विश्वविद्यालयकै एक विद्यार्थीको उजुरीमा यो मुद्दा दर्ता गरिएको हो । अस्ट्रेलियाली टोलीले क्रिकेट विश्वकपको फाइनल जित्दा यी कश्मीरी विद्यार्थीहरूले पाकिस्तानको समर्थनमा नारा लगाएको र उजुरी गर्ने विद्यार्थीलाई धम्की दिएको आरोप छ।
विश्वविद्यालयका विद्यार्थी कल्याणका डीन डा मोहम्मद अबुबकर अहमद सिद्दीकीले इन्डियन एक्सप्रेस पत्रिकालाई विद्यार्थीहरूलाई पक्राउ गरेको पुष्टि गरेका छन्। उनी भन्छन्, ‘यस घटनामा सात विद्यार्थी पक्राउ परेका छन् । मसँग यस केसको बारेमा पछिल्लो जानकारी छैन। विद्यार्थीले हामीसँग गुनासो गरेनन् ।’
गत नोभेम्बर १९ मा भारतले खेल हारेपछि स्नातक तहका विद्यार्थीहरूबिच होस्टेलमा विवाद भएको विश्वविद्यालयसँग सम्बन्धित एक अधिकारीले बताए । उक्त छात्रावासमा ३ सय विद्यार्थी बस्ने ती अधिकारीले जानकारी दिए ।
अधिकारीहरूका अनुसार अन्य राज्यबाट आएका विद्यार्थीहरूले भारतको हारपछि कश्मीरी विद्यार्थीहरूले उत्सव मनाएको र बाहिरबाट आएका विद्यार्थीहरूलाई उत्पीडन गरेको आरोप लगाएका छन्। यस विश्वविद्यालयका अधिकारी भन्छन्, ‘विद्यार्थीहरूले वार्डन वा विश्वविद्यालय प्रशासनमा गुनासो नगर्नु दुर्भाग्यपूर्ण छ। यी विद्यार्थीहरू सिधै प्रहरीमा गए । ती विद्यार्थीहरूले प्रमाण दिए वा दिएनन् भन्ने प्रहरीलाई नै थाहा होला ।’

























