गोरखा

बूढीगण्डकी बाढीः पाँच दिनपछि बाटो खुल्यो

०
Banner
गोरखा, असोज २९–
बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका–२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
आइतबार बूढीगण्डकीमा आएको बाढीले धार्चेको खानीबेँसी, माछाखोला, खोर्लाबेँसी तथा दोभानको झोलुङ्गे पुल र बेलिब्रिज बगाएपछि यहाँका बासिन्दा आवतजावत गर्नबाट वञ्चित भएका थिए । गाउँपालिकाको आह्वानमा करिब ५० जना स्थानीय युवाले लगातार तीन दिन काम गरेपछि बाटो आंशिक रूपमा सञ्चालनमा आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
“मङ्गलबार, बुधबार र आज केरौँजा, केरौँजाबेँसी र रुन्चेत गाउँका ४०(५० जना मिलेर बाढीले ल्याएको लेदो फ्याँक्ने, ठाउँठाउँमा मुढा तेर्‍याउने, भर्‍याङ हाल्ने गरेर अलि अलि हिँड्न मिल्ने बनाएका छौँ”, उहाँले भन्नुभयो, “बाटो खुलेपछि रोकिएर रहेका १०० जना जति भर्‍याङ र डोरीको सहायताले गाउँमा पुगेका छन् । अरू पनि आउने क्रममा छन् ।” आज अबेरसम्म पनि बाटो मर्मत गर्ने काम जारी रहेको उहाँको भनाइ छ ।
केरौँजाबेँसीका ज्याला मजदुरी गरेर खाने स्थानीयलाई बाटो अवरुद्ध हुँदा खाद्यान्न अभाव हुने अवस्था सिर्जना भएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार स्थानीयले मर्मत गरेको बाटोमा मान्छे जसोतसो हिँड्न मिल्ने भए पनि भारी उतार्न र खच्चड हिँडाउन भने सम्भव छैन ।
“केरौँजा, केरौँजाबेँसी, लामाबेँसी र रुन्चेतका करिब ६०० परिवारमा खाद्यान्न ढुवानी गर्ने एउटै माध्यम खच्चड हो । अझै केही दिन ढुवानी नगर्ने हो भने त्यहाँ खाद्यान्न अभाव हुन्छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “खाद्यान्न कहाँबाट लैजाने रु कसरी लैजाने रु दिनभरि मजदुरी गरेर साँझबिहान छाक टार्नेहरूले अब कसरी हात मुख जोड्ने रु भन्ने समस्या छ ।”
पालिकाको वडा नं २ केरौँजातर्फ जाने बाटो आंशिक रूपमा खुले पनि वडा नं १ र ३ तथा चुमनुब्री गाउँपालिकातर्फ जाने बाटो भने अझै खुलाउन नसकिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । जसले गर्दा चाडबाडको समयमा मानिस हिँड्डुल गर्न पाएका छैनन् ।
बाढीबाट प्रभावित धार्चे गाउँपालिकाको विभिन्न बस्तीमा मात्रै तत्कालका लागि अभाव टार्न एक हजार २०० बोरा चामल आवश्यक पर्ने पालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>