राजनीति
नेपालमा दलाल पुँजीपति वर्गको हावी छः अध्यक्ष बिजुक्छे

भादगाउँ, असोज २९-
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा विदेशी दलाल पुँजीपति वर्गको हावी भइरहेको बताउनुभएको छ ।
भक्तपुर ट्रक व्यवसायी सङ्घ (रुपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रालिको २२, २३ र २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय पुँजीपति वर्ग मिलेर विदेशी दलाल पुँजीपति वर्गको विरोधमा सङ्घर्ष गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले हातहतियार बोक्ने मान्छेजस्तै सवारीसाधन भएका मानिस पनि सचेत हुनुपर्ने बताउँदै सरकारले सवारी चालकलाई लाइसेन्स दिने बेला ध्यान दिनुपर्ने, राजमार्गभन्दा १५–२० मिटर टाढा बस्ती बसाल्नुपर्ने र सवारीसाधन खरिद गर्नुअघि ग्यारेजको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
देशको नीति निर्माण गर्ने थलो संसद् राम्रो नभएसम्म देशको अवस्था राम्रो नहुने बताउँदै उहाँले सदनमा व्यवसायी पुग्न सके सम्बन्धित व्यवसायको हितमा ऐन कानुन निर्माण गर्न सहज हुने तथा देशलाई माया गर्ने र देशको हितमा काम गर्ने कर्मचारीहरूको बाहुल्यता भए देशको विकास छिटो हुने बताउनुभयो ।
रासस



























