राजनीति
शेरबहादुरलाई प्रश्न गर्दै कानुनमन्त्रीले भने ‘भ्रष्टाचारका फाइल खोल्दा सरकार ढल्ने कुरा आउँछ’

काठमाडौं, असोज ८-
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले गति लिन खोज्दा ब्रेक लागेको टिप्पणी गरेका छन् । सोमबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले सरकार अघि बढ्न खोज्दा हातखुट्टा बाँधिएको बताएका हुन् ।
‘म त्यही मन्त्रिपरिषदको मन्त्री हुँ । तर बीच बीचमा ब्रेक लाग्छ, अपर्झट ब्रेक लाग्छ । एकदम सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा अब कुदयो है भन्ने लाग्छ । त्यसपछि हावाकावा चल्छ, ब्रेक लाग्छ’ कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले भने, ‘बडो चिन्ताको विषय छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, ‘निवेदन छ सभापति महोदय, यसरी एकदमै छिटो दौडिन खोज्दा हातखुट्टा बाँधियो भने सरकार अगाडि बढ्न सक्दैन ।’ मन्त्री भनेको दुई दिनको घाम छायाँ हो भन्दै गुरुङले बसुन्जेल राम्रो काम गरौं भन्ने सोचाइ भए पनि काम गर्न सहज नभएको बताए । ‘‘गर्न खोजेको, मनले ताकेको, आँटेको काम सहज ढंगबाट गर्न नसकिरहेको अवस्था छ’, उनले भने ।
सरकारले भ्रष्टाचारका फाइल खोल्न थालेपछि सरकार ढल्ने कुरा आउने गरेको भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई नै प्रश्न गरे ।‘ जब हामी भ्रष्टाचारका काण्डहरु एकपछि अर्को खोल्दै जान्छौं तब फेरि यो गठबन्धन भत्किने कुराहरु आउँछन् । सरकार ढाल्ने कुराहरु आउँछन् । किन यसो भइरहन्छ सभापति महोदय? किन यस्ता आवाजहरु उठिरहन्छ?’, कानुनमन्त्री गुरुङले प्रश्न गरे ।



























