देश/प्रदेश

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाहीलाई कारण मानियो

०
Banner

कास्की, कात्तिक ११-

पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा प्राविधिक खराबी, तीव्र गति र चालकको लापर्वाहीलाई जिम्मेवार बनाइएको छ ।

दुर्घटनाको छानबिनका लागि पोखरा महानगरद्वारा गठन गरिएको छानबिन समितिले दुर्घटनाका सम्भावित कारण बसको प्राविधिक खराबीलगायतका पक्ष रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिले दुर्घटनाको प्राविधिक, मानवीय तथा सडक पूर्वाधारसम्बन्धी पक्षको अध्ययन गरी नगरप्रमुखसमक्ष प्रतिवेदन पेस गरेको हो ।

समितिले दुर्घटनाको वास्तविक कारण पहिचानसँगै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विभिन्न सुधारका उपायसमेत सिफारिस गरेको छ । गत असोज २३ गते बिहान ६ः३० बजेको समयमा कालिका बोर्डिङ स्कुलको ग२ख १७४७ नम्बरको बस माझठानाबाट विद्यार्थी लिएर कालिकातर्फ आउने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

समितिले बसको ब्रेक प्रणाली, स्टेरिङ, सस्पेन्सन र टायरको अवस्था दुर्घटनाका सम्भावित प्राविधिक कारणका रूपमा औँल्याएको छ । उपलब्ध मर्मत अभिलेख नियमित रूपमा अद्यावधिक भएको नदेखिएको तथा बसको नवीकरण भए पनि अनिवार्य प्राविधिक जाँचपास ९फिटनेस टेस्ट० नभएको प्रतिवेदनमा उल्लेख छ । दुर्घटनापछि गरिएको प्राविधिक परीक्षणमा स्पष्ट गडबडी फेला नपरे पनि प्राविधिक खराबी र तीव्र गतिले दुर्घटना निम्त्याएको हुन सक्ने समितिको आकलन रहेको समिति संयोजक सुवेदीले बताउनुभयो ।

चालकको बयानअनुसार बस चलाइरहेका बेला अचानक अगाडि कालो वस्तु देखिएपछि बस अनियन्त्रित भएको थियो । तर, दुर्घटनास्थलको भौगोलिक अवस्था, सडकको बनोट, दृश्यता र सम्भावित अवरोधको थप विश्लेषण आवश्यक रहेको समितिले जनाएको छ ।

प्रतिवेदनमा सडक किनारमा सुरक्षा बार, गार्डरेललगायतका पर्याप्त सुरक्षा संरचना नहुँदा दुर्घटनाको जोखिम बढेको समितिको निष्कर्ष छ । बस सडकबाट करिब २०० मिटर तल खसेकाले भिरको उचाइ र सडकको अवस्थाले दुर्घटनाको गम्भीरता बढाएको समितिले जनाएको छ ।

बसको स्वामित्व तथा सञ्चालन व्यवस्थामा पनि सुधार आवश्यक रहेको समितिले औँल्याएको छ । दुर्घटनामा परेको बस श्रद्धा भण्डारीको नाममा दर्ता रहेको र विद्यालयसँग भाडामा सञ्चालन गर्ने सम्झौता भएको देखिएको छ ।

विद्यालयको प्रत्यक्ष नियन्त्रण बाहिर रहेका सवारीसाधन प्रयोग गर्दा जोखिम बढ्न सक्ने भन्दै समितिले नियमित प्राविधिक जाँचपास र निर्धारित मापदण्ड पूरा गरेका सवारीसाधन मात्र प्रयोग गर्न सुझाव दिइएको छ ।

समितिले विद्यालयका सवारीसाधनको नियमित प्राविधिक परीक्षण, चालक तथा परिचालकको योग्यता र स्वास्थ्य परीक्षण, सुरक्षा उपकरणको उपलब्धता, बिमा व्यवस्था तथा स्कुल बस सञ्चालनसम्बन्धी मापदण्डको कडाइका साथ पालना गर्न सिफारिस गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>