राजनीति
झलनाथलाई माधव नेपालको जवाफः ज्ञान हुनेहरूले पार्टीका समस्या बाहिर भन्दैनन्

काठमाडौँ, असोज ४-
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले पार्टीका नेता झलनाथ खनालप्रति इङ्गित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका हुन् ।
केही दिनअघि अध्यक्ष नेपालले पार्टीका नेताहरूको कार्यविभाजन गरेका थिए। अध्यक्ष नेपालले गरेको कार्य विभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालसहित अन्य नेताहरूले समेत असन्तुष्टि जनाउँदै आएका छन् ।
सोही प्रसङ्गलाई लिएर उनले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘पार्टीभित्र अनेकौँ समस्याहरू हुन्छन्, ती समस्याहरू पार्टीले नै हल गर्छ । बाहिर गीत गाएर हिँड्ने होइन । बाहिर नाचेर हिँड्ने कुरा भएन । केही समस्याहरू छन् भने पार्टीको बैठकमा बस्ने, अनुशासनको ज्ञान भएकाले त्यो ढङ्गले गर्छन्, अनुशासनको ज्ञान नभएकाले जे पनि भन्न सक्लान् । पार्टीको हित चाहने एक ढङ्गले र अहित चाहने अर्को ढङ्गले चल्छन् । कतिपय कुरा नमिलेका होलान्, मिलाउनुपर्छ ।’